Comments Add Comment

महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई भेट्दै, सत्ता साझेदारीबारे छलफल हुने

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बीच भेटवार्ता हुँदैछ । दिउँसो एक बजे पछि भेटवार्ता हुने समय तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

जसपा सरकारमा सहभागी हुनेबारे छलफल गर्न भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ । ती स्रोतका अनुसार ओली र ठाकुर बीच सहमति जुटे तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

गएको ६ जेठमा सर्वोच्च अदालतले माओवादी पृष्ठभूमिका सात मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न आदेश दिएको थियो । त्यसपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन नगरी ती मन्त्रालयको जिम्मा आफैंले लिँदै आएका छन् ।

‘कुरा मिलेमा आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । आज नभएपनि केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ’, स्रोतले भन्यो । जसपाका ठाकुर पक्षमा सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

सरकारमा साझेदारी गर्ने सहमतिअनुसार ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको असहमतिका बीच ठाकुर पक्षले ओलीलाई प्रधानमन्त्रीमा समर्थन रहेको पत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment