
२१ जेठ, काठमाडौं । नुवाकोटको अर्चलेमा दुई साता अघि गाउँभरि रुघाखोकी र ज्वरोका बिरामी भेटिएपछि २५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये १८ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसैगरी भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको विभिन्न वडामा पनि रुघाखोकी र ज्वरोका बिरामी भेटिए । उनीहरु मध्ये केहीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखियो । दोलखा अस्पतालमा परीक्षण गर्दा ६० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ ।
देशका मुख्य सहरहरुमा कोरोना संक्रमितको संख्या घट्दै जाँदा विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा भने संक्रमण बढिरहेको छ । अधिकांश ग्रामीण क्षेत्रमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण भएका बिरामीहरु बढिरहेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीहरु बताउँछन् । तर पर्याप्त मात्रामा परीक्षण हुन नसक्दा र स्थानीयले परीक्षण गर्न नमान्दा संक्रमणले भयावह स्थिति ल्याउन सक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
धुलिखेल अस्पतालका डा.रोशन कुमार महतो अस्पतालका विभिन्न स्थानमा रहेका आउटरिच सेन्टर घुमिरहेका छन् । काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायतका गाउँ घुम्ने क्रममा उनले स्थानीयमा संक्रमणको जोखिम बढेको बताए । शहरमा संक्रमण कम हुँदै जाँदा गाउँमा संक्रमण फैलिएको उनी बताउँछन् । गाउँमा रुघाखोकी, ज्वरो, टाउको, शरीर दुख्ने बिरामी अत्याधिक बढीरहेको र २४ वटा स्वाब परीक्षण गर्दा १८ जनासम्म संक्रमण पुष्टि भएको उनले बताए । उनी भन्छन् ‘गाउँ गाउँमा संक्रमण फैलिएको छ । समयमा नै परीक्षण दायरा बढाइएन भने यसले भयावह स्थिति ल्याउन सक्ने सम्भावना छ ।’
अहिले दोलखा अस्पतालमा पुगेका डा.महतो त्यहाँको अवस्था पनि उस्तै जोखिमपूर्ण भएको बताउँछन् । अस्पतालमा परीक्षाण गर्न आउने मध्ये ६० प्रतिशत भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको उनी बताउँछन् । पछिल्लो समय ग्रामिण भेगमा संक्रमणदर उच्च भेटिएकाले जोखिम बढेको डा. महतोको निष्कर्ष छ ।
‘अझै दुई हप्ता गाउँ गाउँमा संक्रमण बढ्ने अवस्था देखिएको छ । जसले गर्दा ग्रामीण क्षेत्रमा मानवीय क्षति बढ्ने सम्भावना छ,’ डा. महतो भन्छन् । समयमा उपचार नपाउँदा मानवीय क्षति बढी हुनसक्ने उनको अनुमान छ ।
भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका नागरिक रहेको गाउँपालिकाका अध्यक्ष ध्रुव राई बताउँछन् । जिल्ला स्वास्थ्य कार्यलयले दिएको एन्टिजेन किटबाट परीक्षण गर्दा विभिन्न वडाका ८ जनामा संक्रमण पुष्टि भएको उनले बताए । ‘प्रायः सबै वडामा कोरोनासँग मिल्दो लक्षण देखिएका बिरामी छन् । अधिकांश परीक्षण गर्नै मान्दैनन्,’ उनले भने, ‘गाउँघरमा अहिले कामको चटारो छ । संक्रमित भएर घरमा बस्न चाहँदैनन् ।’ अध्यक्ष राईको अनुसार संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
गाउँमा कामकाज, मेलापात हिँड्नुपर्ने बाध्यतालाई छुट दिएपनि विहे, पूजापाठ जस्ता कार्य नगर्न अनुरोध गरिएको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्कता डा कृष्ण पौडेलले ग्रामीण क्षेत्रमा कोरोना संक्रमण बढेरहेको बारे आफूहरु जानकार रहेको भन्दै द्रूत गतिमा परीक्षणका लागि सबै प्रदेशमा एन्टिजेन किट पठाइएको बताए
सबै जिल्लमा पीसीआर परीक्षण सम्भव नभएकोले एन्टिजेन किटबाट परीक्षण बढाउने लक्ष्य सहित प्रदेशहरुमा साढे ११ लाख एन्टिजेन किट पठाइएको डा.पौडेलले बताए । ‘अहिले एन्टिजेन किटबाट ग्रामीण क्षेत्रहरुमा परीक्षण बढाएका छौं । तर परीक्षणको रिपोर्ट जत्ति आउनुपर्ने हो त्यत्ति आएको छैन । त्यसबारे बुझ्ने कोशिस गरिरहेका छौं’ उनले भने ।
केही दिन अघि सिरहाको लाहान नगरपालिका वडा नम्बर १५ मा रहेको लक्राहाको दलित वस्तीमा रुघाखोकी फैलियो । तर एन्टिजेन परीक्षण गर्दा भने नेगेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए । अहिले डेढ सय जनाको एन्टिजेन परीक्षण गरिसकेको उनले बताए ।
धुलिखेल नगरपालिकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण लागि टोल टोलमा गएर पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिरहेको जनाएको छ । कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि परीक्षण दायरा बढाउनुपर्ने भएकोले नगरपालिकाले परीक्षणलाई तीव्रता दिएको मेयर अशोक कुमार ब्यान्जुले बताए । अहिलेसम्म २५ सय जनाको स्वाव परीक्षण गरिएको र थप २ हजार जनाको पीसीआर परीक्षढ गर्ने तयारी नगरपालिकाले गरेको उनले बताए ।
प्रतिक्रिया 4