Comments Add Comment
विज्ञ-वार्ता :

‘चुरेमा खानी खोल्दा हजारौं ठाउँमा पहिरो जान्छ’

सरकारले जेठ–१५ को बजेट वक्तव्य मार्फत ‘खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ’ भनेसँगै अहिले चुरे पहाडमा खानी खोल्ने विषय चर्चामा छ ।

बजेटको बुँदा– १९९ ले चुरे लगायतका पहाडमा खानी सञ्चालन गरी निर्माण सामग्री निकासी गर्ने संकेत गरेसँगै वातावरणविद् तथा अभियन्ताहरू आक्रोशित बनेका छन् । उनीहरूले चुरे दोहन हुँदा तराई मरुभूमि बन्ने भन्दै सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् ।

यसै सन्दर्भमा हामीले त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका सहप्राध्यापक डा.सुबोध ढकालसँग चुरे पर्वतको विषयमा कुरा गरेका छौं । डा. ढकाल चुरे पहाडको पहिरो अनुसन्धान तथा विपद् अध्ययनकर्ता पनि हुन् ।

चुरेको भौगोलिक बनोट, महत्त्व तथा सरकारी कदमबारे डा. ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश :

‘चुरे’ भनेर वैज्ञानिक रूपमा हामीले कुन भौगोलिक क्षेत्रलाई बुझ्ने ?

नेपालको पाँचवटा धरातलीय स्वरूप छ । सबैभन्दा दक्षिणमा तराई छ, त्यसको उत्तरमा चुरे, त्यसपछि महाभारत पर्वतशृङ्खला, त्यसभन्दा उत्तरमा उच्च हिमाली भाग र उत्तरमा हिमालय पर्वत छ । यीमध्ये दक्षिणतिरको सबैभन्दा पहिलो पहाड जुन बनोटको आधारमा सबैभन्दा कान्छो पहाड हो त्यसैलाई चुरे भनेर चिनिन्छ ।

यसो त बनोटका आधारमा हिमालय पर्वतशृङ्खला संसारका पर्वतशृङ्खलामध्ये सबैभन्दा कान्छो हो भने हिमालयभित्रको पनि कान्छो पहाडको रूपमा चुरे पर्दछ । यो पवर्तशृङ्खला नेपालमा मात्र नभई अफगानिस्तानदेखि बर्मासम्म फैलिएको छ ।

चुरेको प्राकृतिक बनोट कस्तो छ ?

पहिलो कुरा, चुरेको भू–बनोट अत्यन्त कमजोर छ । यो बनेको धेरै समय नभएकाले बनोट खँदिलो छैन । चट्टानहरू आपसमा खाँदिन नपाउँदा चुरे संवेदनशील भएको हो ।

दोस्रो बुझ्नुपर्ने कुरा के छ भने, चुरेभन्दा तल जाँदा भावर भेटिन्छ, त्यसभन्दा तल बालुवा भएको माटो र अन्तिममा कृषियोग्य मलिलो माटो पाइन्छ । यही बनोटलाई हामी मुख्यतया तराई भन्छौं । यदि यो तराई चट्टानको रूपमा उठ्यो भने चुरे पहाड हुने हो । पृथ्वीको अहिलेको अवस्था निर्माण हुँदा चुरे यसरी नै बन्न पुगेको हो ।

चुरेका प्रमुख विशेषता र महत्त्व के छन् ?

चुरेको जैविक विविधताको पाटो त छँदैछ, यसबाहेक यहींबाट वर्षाको पानी जमीन मुनिबाट छिरेर बग्दैबग्दै तराईसम्म पुग्छ । पानी नदीमा मात्र होइन जमीनमुनि पनि बग्ने गर्छ । यसैले तराईको माटो मलिलो बनाउने काम गर्छ । तराईमा खानेपानी ट्युबेलबाट निकालिने कारण यही हो । किनकि पानी जमीनको सतहमुनि पनि बगेको छ ।

चुरेलाई यदि दोहन गर्‍यौं भने जमीनमुनि बग्ने पानी स्वतः कम हुन्छ । अनि खोलमा बग्ने पानीको सतह बढेर बाढी आउँछ । त्यस्तो बाढीमा थेगर बढी हुँदा खेतीयोग्य जमीन नष्ट हुन्छ । खेतीपाती गर्न सकिंदैन ।

चुरे पहाडको उँचाइ तथा भौगोलिक अवस्थितिले जलवायुमा कस्तो प्रभाव पारेको हुन्छ ?

उँचाइको कारणले मात्रै वातावरणमा असर पर्ने भन्ने हुँदैन । यसको सूक्ष्म अध्ययन पनि भएको छैन । तर चुरेका पहाडहरू नाशिन थाल्यो, ढुंगा–गिट्टी निकालिन थाल्यो भने पानीको अभावदेखि सघन बाढी आउनेसम्म हुन्छ । यस्तै यहाँका हजारौं वनस्पति र जीव–जनावर संकटमा पर्छन् ।

चुरेलाई यदि दोहन गर्‍यौं भने जमीनमुनि बग्ने पानी स्वतः कम हुन्छ । अनि खोलमा बग्ने पानीको सतह बढेर बाढी आउँछ । त्यस्तो बाढीमा थेगर बढी हुँदा खेतीयोग्य जमीन नष्ट हुन्छ । खेतीपाती गर्न सकिंदैन ।

अहिले जलवायु परिवर्तनको कारणले चुरेमा अन्य पहाडमा भन्दा धेरै पानी परेको देखिन्छ । यदि यहाँ मानवीय क्रियाकलाप बढ्न थाल्यो भने पानीकै कारण तराईमा समस्या सृजना हुन्छ ।

भनेपछि चुरेमा कुनै पनि उत्खनन वा खानी सञ्चालन गर्न मिल्दैन ?

चुरे पहाड पर्ने २२ वटा जिल्लामा पहिरोको अनुसन्धान गर्दा म पनि मुख्य अनुसन्धानकर्ता थिएँ । पश्चिमदेखि पूर्वसम्म अध्ययन गर्दा हामीले दश हजारवटा पहिरो गएको स्थान पत्ता लगायौं । अहिले नै त्यति पहिरो गएको छ भने अब खानी चलाउन थालियो भने त थप हजारौं पहिरो जाने सम्भावना हुन्छ । अनि पहिरोसँगै भूक्षय, बाढी एकैसाथ आइपर्छ ।

यसको एक मात्र कारण चुरेको कमजोर भू–बनोट नै हो । अनि मान्छेहरूले चुरेमा खानी सञ्चालन गर्न किन हुँदैन भन्ने कुराको प्राविधिक पक्ष बुझेका छैनन् । चुरे आफैंमा कमजोर छ भने यसबाट निकालिएका कच्चा पदार्थ गुणस्तरीय हुँदैनन् । यसको ढुंगा–माटोले बलियो निर्माण गर्न सकिंदैन । वैज्ञानिक आधारमा यो कुरा असान्दर्भिक छ ।

तराई र चुरेका खोलाको सवालमा भने ती खोला हिमालबाट बग्दै आएका हुनाले खनिज पदार्थ बलियो हुन्छ । उपयोगी खनिज निस्कन सक्छ । तर चुरे पर्वतकै खनिज भने निकै कमसल छ ।

यो पनि पढ्नुहोस् यो पनि पढ्नुहोस ‘चुरे दोहनले तराई मरुभूमि बन्छ, सरकारले निर्णय सच्याउनुपर्छ’

खानी सञ्चालन गर्दा तराईको खेतीयोग्य जमीनको माटोमा कस्तो प्रभाव पर्छ ?

चुरेमा खानी सञ्चालन गर्दा बाढीले सबै थेगर तराईका कृषियोग्य जमीनमा थुप्रिन्छ । नदी खोलाको सतह झन् बढ्छ । सामान्य वर्षामा पनि चुरेबाट ढुंगा–माटो र चट्टानका टुक्राहरू बाढीको रूपमा बग्दै तराईको समथर माटोमा पसेर थिग्रेर बसेको छ भने चुरे दोहन गर्दा यो अवस्था भयावह हुन्छ ।

अर्कोतर्फ अहिले नै तराईका नदीहरूको ‘सतह’ जमीनभन्दा माथि छ । गाउँबस्तीहरू नदीकै सतह वा कहीं–कहीं त नदीभन्दा पनि तल्लो सतहमा छ । यस्तो भूबनोट हुँदाहुँदै हामीले चुरे दोहन गर्‍यौं भने बाढीको विकराल अवस्था आउँछ । यसले कृषियोग्य जमीन त नष्ट गर्ने नै भयो हजारौं बस्तीलाई बाढीले सखाप पार्न सक्छ !

एउटा विज्ञको हैसियतमा चुरेको सवालमा सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?

हामीले प्राकृतिक स्रोतलाई अप्टिमम (उच्चतम) प्रयोग गर्ने नै हो । आफूसँग भएका स्रोत–साधन नै प्रयोग गर्ने हो । यसमा दुईमत छैन ।

तर, प्राकृतिक स्रोत उपयोग गर्दा कुन ठाउँमा कति गर्ने, कहिलेसम्म गर्ने भन्ने जस्ता विस्तृत वैज्ञानिक अध्ययनपछि मात्र सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।
लोकप्रियताको लागि वा भनौं आफ्नो राजनीतिक एजेण्डाका लागि जहाँ पनि खानी खोल्ने कुरा गर्न मिल्दैन ।

प्राविधिक एवं वैज्ञानिक अध्ययन गरेर मात्र खानी सञ्चालन गर्ने तथा ढुंगा–माटो, बालुवा निकाल्ने काम गर्नुपर्छ । अनि राष्ट्रिय स्रोत भएकाले निजी क्षेत्रको जिम्मामा नभई सरकारी निमयनकारी निकायबाट खनिज पदार्थ निकाल्नुपर्छ । कडा अनुगमन गरिनुपर्छ ।

तर तपाईंहरूको कुरा नसुनिकन बजेट वक्तव्यमा चुरेमा खानी खोल्ने कुरा राखियो नि !

विज्ञता हासिल गरेर आएका विज्ञहरूले त प्राविधिक हिसाबले जे ठीक हो त्यसैलाई सत्य मान्नुपर्छ । सरकारलाई सजिलो होस् भनेर विज्ञले सुझाव दिने होइन नि ! पढेको एउटै कुरा छ भने सबैको एउटै मत आउनुपर्छ । मैले पढेको एउटा, अर्कोले पढेको एउटा भन्ने त वैज्ञानिक सवालमा हुँदैन नि !

अनि राजनीतिक पार्टीले विज्ञहरूलाई चलाउने होइन कि विज्ञहरूले राजनीतिक पार्टीलाई चलाउने हो । यहाँ त उल्टो भएको छ ।ईआईए (वातावरणीय प्रभाव मूल्याङ्कन) मात्रको भर परेर हुँदैन । यहाँका विज्ञ आफैं ईआईए गर्ने फेरि आफ्नो फाइदाका लागि आफूखुशी ईआईएभन्दा उल्टो सल्लाह दिन्छन् । सिङ्गो राष्ट्रलाई घाटा हुन्छ भने सबै विज्ञ एकै ठाउँमा उभिनुपर्छ ।

अभियन्ताहरूले पनि चुरे दोहनको विरोध गरिरहेका छन् । यसमा अभियन्ता तथा सरोकारवालाहरूको कस्तो भूमिका रहन्छ ?

यहाँ दुईथरी अतिवादीहरू छन् । एकथरी भन्छन्– सबै चुरे पहाडजति काटेर खानी सञ्चालन गरौं । निर्माण सामग्री निकासी गरेर अर्थतन्त्र बलियो बनाऔं । अर्कोथरी भन्छन्– वातावरणलाई असर पर्ने हुनाले एक दर्जन रूख पनि काट्न मिल्दैन । विकासको नाममा विनाश गर्न पाइँदैन ।

यी दुवैथरी अतिवादीहरूको बीचबाट हामीले सोच्नुपर्छ । यदि वैज्ञानिक आधार छ, प्राविधिक सन्तुलन छ भने खानी खोल्नुपर्छ । बेच्न मिल्छ भने निर्यात गर्ने हो अनि आफ्नै देशलाई निर्माण सामग्री चाहिन्छ भने आफैंले प्रयोग गर्ने हो । हामीलाई पनि त दिगो निर्माणका लागि बलियो खनिज पदार्थ चाहिएको छ । बेच्ने मात्र कुरा छैन नि !

अहिले अभियन्ताहरूले चुरेको सवालमा सरकारलाई दोहन नगर्न दबाब दिइरहेकाको कुरा सकारात्मक छ । अन्य सवालमा भने उनीहरूले पनि वैज्ञानिक आधार लिएर कुनै पनि कुराको विरोध गर्दा राष्ट्रलाई हित हुन्छ भने मात्रै विरोध गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्  यो पनि पढ्नुहोस गिट्टी-वालुवा निकासीप्रति सरकार प्रतिवद्ध ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment