Comments Add Comment

मानसिक सन्तुलन गुमाएका व्यक्ति चार वर्षदेखि साङ्लोमा

२२ जेठ, वीरगञ्ज । खपडाले छाएको सानो घर, हेर्दा गाईबस्तु बाँध्ने गोठ जस्तै लाग्छ । तर त्यहाँ भित्र खाँबोमा एक जना पुरुषलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । उनको शरीरमा एकसरो कपडा पनि छैन ।

यसरी किन बाँधेर राखेको ? परिवारका सदस्य भन्छन्, ‘रहर हैन हाम्रो बाध्यता हो । उनलाई बाँधेर राखेन भने भाग्छन् ।’

यो कारुणिक दृश्य बाराको कलैया उपमहानगरपालिका-१८ मोतिसरको हो । त्यहाँ एक मानसिक सन्तुलन गुमाएका पुरुषलाई चार वर्षदेखि साङ्लोले बाँधेर राखिएको छ । उनी हुन् जागेश्वर ठाकुर । १२ वर्षअघिसम्म ठाकुर नाम चलेका मिस्त्री थिए । काठको काममा उनको सीपको चर्चा गाउँभरि थियो । उनको कलाकारिता देखेर गाउँका मानिस अचम्ममा पर्थे ।

तर अचेल मानसिक सन्तुलन ठीक नभएको व्यवहार देखाउँछन् । उनी मानिसलाई देख्दा गाली गर्ने मात्रै हैन, एक्लै पनि कराइरहन्छन् । स्थानीयका अनुसार उनी राति पनि नसुती गाली गर्ने, कराउने र गीत गाउने गर्छन् । परिवारका सदस्यले लगेर दिएको खाना कहिले खान्छन्, कहिले रिसाएर घोप्ट्याइदिन्छन् ।

ठाकुरको मानसिक स्वास्थ्य अवस्था बिग्रन थालेको झण्डै १२ वर्ष बित्यो । १२ वर्षमा त खोलो पनि फर्कन्छ भनिन्छ । तर जागेश्वर ठाकुरको श्रीमती सुदामा देवीको परिवारमा खुशी फर्किएको छैन । ठाकुर दम्पतीका चार छोरी र दुई छोरा गरी ६ जना सन्तान पनि छन् । चार छोरीको विवाह भइसकेको छ । दुई छोरा साथमा छन् । त्यसमध्ये पनि एउटा छोरा बोल्न सक्दैनन् ।

जागेश्वरको उपचार गराउँदा गराउँदै ७ कठ्ठा जमीन र गरगहना बेचिसकेको उनकी श्रीमती सुदामा देवी सुनाउँछिन् । ‘वीरगञ्ज, भरतपुर, काठमाडौं, भारत लगायतका ठाउँमा लगेर उपचार गर्यौं, ७ कठ्ठा खेत बिक्री भइसकेको छ । गरगहना थियो सबै बेचेर उपचारमा लगाएँ । एक ठाउँमा घडेरी र बसेको घर मात्रै बाँकी छ’ उनी भन्छिन् ।

उनले पतिलाई बाँधेर राख्नुपर्नाको कारण सुनाइन्, ‘चौकी तथा खाटको तल गएर लुक्ने अनि ढोका बन्द गरेर ४/५ दिन त्यसै बस्थे । औषधि खाँदासम्म ठीक हुन्थे, औषधि खान छोडेपछि भागिहाल्थे । तोडफोड गरेर बाहिर निकाल्नुपर्थ्यो । त्यसैले पकडेर बाँधेर रोखेका छौं ।’

कमाएर खुवाउने श्रीमानको स्वास्थ्यमा सुधार नभएपछि सुदामा देवीले गाउँघरमा ज्याला मजदुरी गरेर छोराछोरी हुर्काउनुको साथै आफ्नो जीवनयापन गर्दै आएकी छन् । श्रीमानको उपचारमा कतैबाट सहयोग भए जीवनमा सुुखका दिन आउने आशमा छिन् उनी ।

जागेश्वरकी आमा चनमतीलाई बुढेसकालमा छोराको यस्तो अवस्था देखेर दिक्क लाग्छ । ‘पहिला तगडा थियो, ऊ जस्तो मिस्त्री वरपरको गाउँमा समेत कोही थिएन’ उनले भनिन्, ‘अहिले त्यही छोरालाई सिक्रीले बाँधेर राख्नु परेको छ । खोलिदियो भने भाग्छ । छोराको स्थिति देखेर दुःख लाग्छ । गर्न केही सक्दिनँ ।’

सामाजिक अभियन्ता प्रकाश थारु जागेश्वरको अवस्थाबारे जानकारी पाएपछि उपचारको प्रबन्ध गराउन लागि परेको बताउँछन् । ‘केही पहिला नै जानकारी पाएको थिएँ, जान भ्याएको थिइनँ । शुक्रबार बिहान हेर्न गएको स्थिति देखेर आँसु थाम्न सकिनँ’ उनले भने, ‘त्यसपछि मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोइतलाई अवस्थाबारे बताएँ । उहाँले लेखिदिएको औषधि र केही दिनका लागि पुग्ने दाल, चामललगायतको खाद्यान्न दिएर आएको छु ।’

स्थानीय सरकारले गरीब असहाय परिवारको उपचारमा सहयोग गर्नेतर्फ ध्यान नदिनु दुःखद भएको उनको भनाइ छ । ‘जनप्रतिनिधिले सडक नाला बनाउने, धर्मशाला बनाउने कार्यलाई मात्रै विकासको रुपमा देखेका छन्’ उनले भने, ‘गरीब, विपन्न परिवारको उपचारमा पनि सहयोग गर्न सक्छन् नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment