+
+

चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार

सुरेश बिडारी सुरेश बिडारी
२०७८ जेठ २२ गते १९:४६
तस्वीर सौजन्य : सुयश श्रेष्ठ

२२ जेठ, वीरगञ्ज । मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई शनिबार उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले ठाकुरलाई उद्धार गरेर वीरगञ्ज ल्याएको छ । उद्धार गर्नु अघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो काटेर उनको शरीरको सरसफाइ गरिएको थियो । ठाकुरलाई मानव सेवा शाखा वीरगञ्जमै राखेर औषधि उपचार गरिने सामाजिक अभियन्ता एवं आश्रमका संरक्षक प्रकाश थारुले जानकारी दिए ।

‘चार वर्षभन्दा लामो समयदेखि साङ्लोले बाँधेर राखिएको थियो, कपडा च्यातेर फाल्ने गरेकोले शरीरमा एकसरो कपडा पनि थिएन,’ उनले भने, ‘सरसफाइपछि नयाँ कपडा लगाइदिएर उद्धार गरी वीरगञ्ज आश्रममा ल्याएका छौं । औषधि उपचार गरेर निको नभएसम्म यतै राख्छौं ।’

वीरगञ्जका मानसिक रोग विशेषज्ञ डा. भरत गोइतले ठाकुरको उपचारमा सहयोग गर्ने आश्वासन दिएका छन् । स्थानीय गणेश साहका अनुसार बाराको पिपरामा ठूलो महायज्ञ लागेको बेला उनी यता आएको बताए ।

‘यतातिर ऊ जत्तिको काठको काम गर्न सक्ने मिस्त्री अरु कोही थिएन । राजा पिपरा आएको दिन ऊ भाग्दै घर आयो । बारीमा मकै लगाएको थिएँ, सबै कुल्चेर नष्ट गरिदियो,’ उनले भने, ‘त्यही दिनदेखि बिरामी भएको काठमाण्डु, भरतपुर, भारतको गोरखपुर लगायतका ठाउँमा लगेर उपचार गराउँदा पनि निको हुन सकेन । त्यो दिन किन भागेको थियो त्यो पनि थाहा छैन ।’

ठाकुर बिरामी परेपछि परिवारले निकै दुःख पाएको साहको भनाइ छ । सात कठ्ठा जमिन र गरगहना बेचेर उपचार गराउँदा समेत निको नभएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

प्रधानमन्त्री पत्नी शाक्यको चासो

अनलाइनखबरमा ठाकुरको बारेमा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि यसबारेमा चासो लिएकी थिइन् । उनले मानव सेवा आश्रमका सचिव सुमन मानवसेवालाई टेलिफोन सम्पर्क गरेर ठाकुरको अवस्था बुझेर आवश्यक सहयोग गर्न भनेकी थिइन् । काठमाडौंबाट सुमनले मानव सेवा आश्रम प्रदेश न्म्बर २ का संयोजक देवेश गुप्तालाई फोन गरेर अवस्था बुझ्न भनेका थिए ।

‘उहाँको अवस्थाको बारेमा हामीकहाँ केही जानकारी आइसकेको रहेछ, समाचार सार्वजनिक भएपछि राधिका आमाले पनि चासो लिनुभएछ,’ उनले भने, ‘बारा प्रहरीको सहयोगमा, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ताको रोहबरमा उद्धार गरेर ल्याएका छौं ।’

सडकमा अलपत्र, बेसहारा मानिसहरुको मानव सेवा आश्रमले उद्धार गरेर खान, बस्न र लगाउने व्यवस्था मिलाउँदै आएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखामा ४८ जनाले सेवा लिइरहेको आश्रमकी सानु गुरुङले जानकारी दिइन् ।

तस्वीर सौजन्य : सुयश श्रेष्ठ

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?