+
+
Shares

सडक नबनाएको भन्दै पप्पु कन्स्ट्रक्सनविरुद्ध वीरगञ्जमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते २०:२३

२३ जेठ, वीरगञ्ज । तोकिएको समयमा सडक नबनाएको भन्दै वीरगञ्जमा स्थानीयले पप्पु कन्स्ट्रक्सनको विरुद्धमा प्रदर्शन गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं २० अपौनी र हरपतगञ्जका स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार, निलम्बित सांसद हरिनारायण रौनियार र शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुखको पुत्ला जलाएका छन् ।

ठेकेदारले समयमै काम सम्पन्न नगरेका कारण आफूहरुले सास्ती भोग्नुपरेको गुनासो उनीहरुको छ । वीरगञ्जको उदयपुर घुर्मीबाट अपौनी हुँदै हरपतगञ्ज ड्राइपोर्ट निस्कने सडक, वीरगञ्ज महानगरपालिका–१८ सौराहाबाट अपौनी हुँदै सुगौली थानासम्मको सडक निर्माणको जिम्मा पप्पुले पाएको छ ।

वडा नं २० का स्थानीय नेता राम किशोर सिंह परागले सडक निर्माण गर्ने जिम्मा लिएर काम नगरेपछि बाध्य भएर प्रदर्शनमा उत्रनुपरेको बताए ।

‘३१ फिटको बाटो बन्छ भनेपछि कम्पाउन्ड, घर जे पर्छ भत्कायौं । पप्पुले गाउँ भित्र डेढ सय मिटर नाला बनाएको छ । बाटो त बनाएको छैन’ उनले भने ‘पप्पु कन्स्ट्रक्सन, पेटी ठेकेदार, सहरी विकास तथा भवन डिभिजन कार्यालय मात्रै नभएर प्रमुख जिल्ला अधिकारीको समेत पटक पटक ध्यानाकर्षण गराएका हौं तर सुनुवाइ नै भएन, वर्षामा एम्बुलेन्ससमेत गाउँबाट निस्कन नसक्ने अवस्था भएपछि सडकमा निस्कन बाध्य भएका हौं ।’

स्थानीयले पप्पु कन्स्ट्रक्सनका कर्मचारी चढेको गाडीलाई नियन्त्रणमा लिएका थिए । प्रहरी टोली पुगेपछि उनीहरुले गाडी छोडिदिएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले तितर वितर पारेको बताए ।

‘बाटो समयमा बनेन भनेर स्थानीयले गाडी नियन्त्रणमा लिएका रहेछन्, प्रहरी गएपछि गाडी छोडिदिएका थिए’ उनले भने ‘पछि भिडभाड गरेर विरोध प्रदर्शन गर्दै पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेर तितर बितर पारेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?