Comments Add Comment

बाढीको पूर्वसूचना दिन भारतीय पक्षको आग्रह

२३ जेठ, विराटनगर । बाढीबाट हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि बाढीको पूर्व सूचना दिन भारतीय पक्षले मोरङको जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

नेपाल–भारत संयुक्त सीमा सुरक्षा भर्चुअल बैठकमा भारतीय पक्षले बाढीबाट हुने सम्भावित जोखिम नियन्त्रणका लागि बाढीको पूर्व सूचना दिन आग्रह गरेको हो ।

आइतबार भएको छलफलमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ पौडेल तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी प्रमुख एसपी कमल थापा र सशस्त्र प्रहरी प्रमुख माधव पौडेल सहभागी थिए ।

भारतका तर्फबाट बिहार राज्यको अररिया जिल्लाका डीएम (जिल्ला प्रमुख) प्रशान्त सी.एच र एसपी हृदयकान्त सहभागी थिए ।

बैठकमा कोरोना महामारी नियन्त्रण र अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा पनि छलफल भएको छ । बैठकमा कोरोना महामारी नियन्त्रणका लागि आपसी सहकार्य एवं साझा प्रयास आवश्यक रहेको निश्कर्ष निकाल्दै दुवै देशका सुरक्षा अधिकारीले एकअर्कामा सहयोग आदानप्रदान गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा एक अर्कालाई समन्वय गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

दुई देशीय सीमा नाकामा थप कडाइ तथा सीमा क्षेत्रबाट भइरहेको आवतजावतलाई पूर्ण रुपमा नियन्त्रण गर्ने, आपसी सहयोग र सहकार्यलाई प्राथमिकतामा राखेर साझा प्रयासमा केन्द्रित हुने, सीमा कडाइलाई यथावत राख्ने विषयमा पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment