Comments Add Comment

ओलीको प्रस्ताव : ३ जेठ २०७५ पूर्वको एमाले, सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता

२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् ।

शुक्रबार मात्र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप लगाएको थियो । आफूहरुले अघि सारेको प्रस्तावहरु निश्चिय समय सीमामा विश्वसनीय कार्यान्वयन हुने सहमति भए मात्र ओली एकताको पक्षमा रहेका ठहरिने, अन्यथा एकताको नाममा नअलमलिने र वैकल्पिक बाटो अबलम्बन गर्ने चेतावनी दिएको थियो ।

नेपाल समूहको निर्णय सार्वजनिक भए लगतै एमाले अध्यक्ष ओलीले एकताका लागि आहृवान गरेका छन् । एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भएपनि पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको उनले बताएका छन । पार्टी अध्यक्षको हैसियतमा आफूले एकताका निम्ति पहल पनि गरेको भन्दै उनले भनेका छन्, ‘हाम्रो अनवरत प्रयासका बाबदुज जे नहुनुपर्ने, त्यही भइरहेको छ ।’

पार्टीमा देखिएका समस्या समाधान हुन नसक्ने कारण नभउको भन्दै उनले एक ठाउँमा उभिनुपर्ने र सबैले एकताको लक्ष्य राखेर सकारात्मक योगदान गर्नुपर्ने जोड दिएकाम छन् । उनले पार्टीको समस्या समाधानका लागि ६ बुँदे प्रस्ताव समेत अघि सारेका छन् ।

  • नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुनेछन् ।
  • मातहतका पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।
  • संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।
  • आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाछ हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।
  • ५. यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन, कुनै भेदभाव गरिने छैन ।
  • ६. नेकपा एमालेलाई बैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुनेछ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताका लागि यो अवसर भएको बताए । ‘यो पार्टी एकता जोगाउने र एकताको पक्षमा उभिन साथीहरुलाई असाध्यै महत्वपूर्ण आहृवान हो’ ज्ञवालीले अनलाइनखबरसँग भने, ‘यसको सदुपयोग गरेर साथीहरुले एकतामा योगदान गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment