Comments Add Comment

प्रदेश २ मा महन्थ पक्षका चार मन्त्री बर्खास्त

जितेन्द्र सोनल, अभिराम शर्मा, डिम्पल झा र सुरेशकुमार मण्डल

२३ जेठ, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारमन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् ।

उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौथिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् ।

बर्खास्त भएका सबै महन्थ ठाकुर पक्षका हुन् ।

पार्टीभित्र चर्को विवादका बाबजुद ठाकुर पक्ष शुक्रबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्र सरकारमा सहभागी भएको थियो । ८ मन्त्री र दुई राज्यमन्त्री लिएका प्रधानमन्त्री ओलीले जसपाबाट सरकारमा नेतृत्व गरेका राजेन्द्र महतोलाई उप्रधानमन्त्री बनाएका थिए ।

महन्थ पक्ष केन्द्र सरकारमा सहभागी भए लगतै जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका थिए । यादवकै सक्रियतामा आइतबार संसदीय दलको बैठकले मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता चयन गरेको छ । उनलाई जसपाका ५५ मध्ये ३६ जना सांसदको साथ छ ।

उनको पक्षमा हस्ताक्षर गर्नेमा पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका ६ जना छन् । प्रदेश २ मा तत्कालीन संघीय समाजवादी पार्टीको २९, राजपाको २५ सिट थियो । स्वतन्त्रबाट निर्वाचित शेख अबुल कलाम आजाद पार्टी प्रवेश गरेपछि ५५ पुग्यो ।

तर आइतबार दल नेता चयन गर्दा महन्थ ठाकुर पक्षका सांसदहरुले सुइको समेत पाएनन् । ‘खोई कसलाई र कहिले संसदीय दलका नेता बनाइएको हो केहि थाहा भएन’ सांसद परमेश्वर साहले भने ।

अब कांग्रेस र माओवादी सरकारमा !

अब प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने जसपा अध्यक्ष यादवको तयारी छ । मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘छिट्टै मन्त्रिपरिषद् पुनगर्ठन गर्ने तयारी छ ।’

यसबारे कांग्रेस, माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सहमति भइसकेको जसपा स्रोतको दाबी छ ।  कांग्रेस र माओवादी केन्द्रका प्रदेश २ का नेताहरुसँग छलफल भइरहेको छ । ‘सत्ता सहकार्यको बारेमा छलफल भएको छ, तर ठोस निष्कर्ष निस्किन सकेको छैन’ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘भोलि पनि बैठक छ । त्यो बैठक शायद निष्कर्षमा पुग्न सक्छ ।’

उनका अनुसार कांग्रेसले मुख्यमन्त्री दाबी गरेका छन् । तर जसपा नेताहरुले भने राउतकै नेतृत्वमा सरकारलाई निरन्तरता दिन कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भइसकको बताउँछन् । ‘उपसभापति विमलेन्द्र निधिजीले मुख्यमन्त्री दाबी गर्नु भएको हो, हाम्रै नेतृत्वमा सहमति जुट्छ,’ एक नेताले भने ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले पनि सत्ता सहकार्यबारे छलफल भइरहेको बताए । ‘सरकारमा जान हामी सकारात्मक छौं’ उनले भने, ‘तर निष्कर्षमा पुग्न सकिएको छैन ।’

अहिले भइरहेको छलफलअनुसार सहमति जुटेमा सरकारका लागि चाहिने बहुमत पुग्छ । प्रदेशमा हाल कायम रहेको १०४ सांसदमध्ये जसपाका ३६ सांसद राउतको पक्षमा छन् । कांग्रेसका १९ र माओवादीका ८ सांसद थपिँदा ६३ पुग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
श्रवण देव

ट्रेन्डिङ

Advertisment