Comments Add Comment

प्रदेश-२ मा सत्ता सहकार्यको प्रयास : ‘मुख्यमन्त्रीको दौडबाट कांग्रेस पछि हट्यो’

सांसद शिवचन्द्र चौधरी

२४ जेठ, जनकपुरधाम। प्रदेश-२ को सत्ता सहकार्यको विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहको बैठक निष्कर्षविहीन भएको छ ।

सोमबारको बैठकमा कुनै निर्णय नभएको र मंगलबार फेरि बस्नेगरी बैठक स्थगित भएको कांग्रेसको तर्फबाट वार्तामा सहभागी सांसद शिवचन्द्र चौधरीले जानकारी दिए ।

सुरुमा कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरे पनि तत्काल यो मागबाट पछि हटेको चौधरीले बताए । ‘हाम्रो माग त मुख्यमन्त्री नै हो । हाम्रा नेताहरुले साढे तीन वर्ष तपाईंहरुले चलाउनुभयो अब बाँकी दिनुस् भन्नुभएको छ । तर उहाँहरु संख्यामा बढी हुनुहुन्छ त्यही भएर मुख्यमन्त्री उहाँहरुले नै लिनुहुन्छ।’ कांग्रेसले सत्ता सहकार्यको लागि वार्ता गर्न प्रदेश २ संसदीय दलको नेता सरोज यादवलाई जिम्मा दिएको छ ।

सांसद चौधरीका अनुसार जसपाको उपेन्द्र यादव पक्षले अहिले बाँकी रहेको र केही मन्त्रालय टुक्राएर कांग्रेस र माओवादीलाई दिन चाहेको छ । तीन वटै पार्टीको संयुक्त बैठक बसेर मन्त्रालय बाँडफाँटको विषयमा निष्कर्षमा पुग्न सकिने उनले बताए ।

प्रदेश २ मा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास, आर्थिक मामिला तथा योजना, उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालय छन् । जसपा स्रोतका अनुसार सामाजिक विकास, भूमि व्यवस्था तथा कृषि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई टुक्राएर नयाँ मन्त्रालय बनाउन खोजिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव नयाँ सत्ता समीकरणको प्रयासमा छलफल गर्न प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आएका छन्। उनी जनकपुरधाम आएलगत्तै मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषदबाट महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment