Comments Add Comment

मन्त्री सोडारी र प्रदेश सचिव रावलको जुहारी : ममाथि हातपात भयो

२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावलले एकअर्कामाथि हातपात गरेको आरोप लगाएका छन् ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्न निर्देशनसहित पार्टीको पत्र दिन रावल सोमबार मन्त्रालयमा पुगेका थिए । त्यसक्रममा मन्त्री सोडारीले आफूमाथि हातपात गरेको प्रदेश सचिव रावलले बताएका छन् ।

‘म पार्टीको केन्द्रीय कमिटिको निर्देशनअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशनसहितको पत्र बुझाउन उहाँको कार्यकक्षमा पुगेको थिए,’ रावलले अनलाइनखबरसँग भने, ‘उहाँले मलाई धक्कामुक्का गरेर कार्यकक्षबाट बाहिर निकाल्नुभयो । स्वकीय सचिवसहित सुरक्षाकर्मीले मलाई दुर्व्यहार गरे ।’

त्यसक्रममा आफ्नो चश्मा, पर्स लगायतका सामानहरु समेत मन्त्रालयमै छुटेको उनको दाबी छ । उनले मन्त्रीलाई कारवाही गर्न माग गर्दै भोलि मंगलबार प्रहरी कहाँ जाने बताएका छन् ।

मन्त्री सोडारीको सचिवालयले भने प्रदेश सचिव रावलले मन्त्रीमाथि दुर्व्यहार गरेको दाबी गरेको छ । मन्त्रीका स्वकीय सचिव ललितबहादुर बोहराले विज्ञप्ती जारी गर्दै रावलले कार्यकक्षमै प्रवेश गरेर मन्त्रीमाथि अभद्र व्यवहार गरेको बताएका हुन् ।

‘कञ्चनपुर जिल्ला बस्ने क.राजेन्द्र रावलले मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरी प्रदेशसभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सोडारी माधवकुमार नेपाल पक्षबाट मन्त्री बनेका हुन् भने प्रदेश सचिव पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन् । १० जेठमा बसेको एमालेको स्थायी कमिटि बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

तर प्रदेश संसदीय दलले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो । त्यसपछि एमालेका ३ मन्त्रीलाई राजीनामा दिए भने ४ मन्त्री र ३ राज्यमन्त्री थपिए ।

एमालेभित्र विवाद कायमै रहेका बेला मुख्यमन्त्री भट्ट भोलि बिहान ९ बजे प्रदेशसभामा विश्वासको मत लिँदैछन् । माधव पक्षले उनको पक्षमा मत दिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment