Comments Add Comment

एसिया कप छनोटका लागि यस्तो छ नेपालको बाटो

२५ जेठ, काठमाडौं । सोमबार राति जोर्डनसंगको खेलमा ३-० ले पराजित भएपछि नेपालको विश्वकप छनोटको यात्रा औपचारिक रुपमै समाप्त भएको छ, एसिया कपमा छनोटको सम्भावना पनि कठिन बनेको छ ।

एसियाली क्षेत्रीय छनोटको ८ समूहमध्ये प्रत्येक समूहको समूह विजेता र उपविजेतामध्ये उत्कृष्ट चार टिम विश्वकपको लागि तेस्रो चरणको छनोटमा प्रवेश गर्नेछन् । समूहमा पाँचौं हार व्यहोरेपछि नेपाल ६ अंकसहित आफ्नो समूहमा चौथो हुने पक्का भएको छ ।

यस समूहमा अष्ट्रेलिया लगातार ६ खेल जित्दै १८ अंकसहित शीर्ष स्थानमा छ । नेपाललाई पराजित गरेको जोर्डन १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ र कुवेत १० अंकसहित तेस्रो स्थानमा छ । सात खेल हारेको चाइनिज ताइपेई अंकविहीन हुँदै पुछारमा छ । नेपालसंगै यो समूहबाट चाइनिज ताइपेई पनि विश्वकप छनोटको यात्राबाट बाहिरिएका छन् ।

अब नेपालको बाटो

विश्वकपको यात्रा सकिएपनि नेपालले अझै एसियन कपको लागि छनोट खेल्नेछ । यदि समूहमा दोस्रो वा तेस्रो हुन सकेको भए नेपाल एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्ने थियो । तर चौथो स्थानमा रहने पक्का भएको नेपालले त्यो अवसर पनि गुमाइसकेको छ ।

नेपालले तेस्रो चरणको छनोटमा पुग्न अब प्लेअफको बाटो हुँदै जानुपर्नेछ । अहिले भइरहेको एसियाली क्षेत्रको छनोटमा ४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ । जसमध्ये ८ टिमको समूह विजेता र उपविजेतामध्ये उत्कृष्ट ४ गरी कूल १२ टिम सिधै एसिया कपमा छनोट हुनेछन् ।

यस्तै उपविजेतामध्ये कमजोर ४ टिम, तेस्रो हुने ८ टिम र चौथो हुनेमध्ये उत्कृष्ट ४ गरी कूल १६ टिम एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । एसिया कपमा २४ टिमले प्रतिस्पर्धा गर्ने भएकोले तेस्रो चरणबाट बाँकी १२ टिमको टुंगो लाग्नेछ । तेस्रो चरणको छनोटमा दोस्रो चरणबाट आएका १६ टिम र प्लेअफमार्फत आउने ८ टिम गरी २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

अहिले भइरहेको छनोटमा चौथो हुनेमध्ये कमजोर ४ टिम र अन्तिम स्थानमा रहेका ७ टिम (८ टिम भएपनि उत्तर कोरियाले नाम फिर्ता लिएकोले ७ टिम) गरी ११ टिमले प्लेअफ खेल्नेछन् । प्लेअफ दुई चरणमा हुनेछ । त्यसका लागि एएफसीले खेलतालिका सार्वजनिक गरिसकेको छैन ।

नेपाल आफ्नो समूहमा चौथो भएको र समग्रमा चौथो हुने कमजोर टिमको हैसियतमा एसिया कप छनोटको यात्रा प्लेअफबाट गर्नेछ ।

समूह एचमा रहेको उत्तर कोरियाले कोरोना महामारीका कारण विश्वकप छनोट खेल नखेलेकाले प्लेअफका लागि अब ११ टिम मात्र हुनेछन् । उत्तर कोरियाले नाम फिर्ता लिएपछि एएफसीले हरेक समूहमा दोस्रो हुने र पाँचौ हुने तथा चौथो हुने र पाँचौं हुने टिमबीचको नतिजा र त्यसको अंक गणना नहुने नियम बनाएको छ ।

त्यसैले नेपालले आफ्नो समूहको पाँचौं स्थानमा रहेको चाइनिज ताइपेइविरुद्ध दुई खेल जित्दै ६ अंक जोडेपनि तेस्रो चरणमा जान यो अंक गणना हुने छैन ।

अहिलेसम्म प्लेअफका लागि ६ टिमको टुंगो लागिसकेको छ । आआफ्नो समूहमा पाँचौं स्थानमा रहेका समूह ए को गुआम, समूह बीको चाइनिज ताइपेई, समूह सीको कम्बोडिया, समूह एफको मंगोलिया, समूह जीबाट इन्डोनेसिया र समूह एचको श्रीलंका छन् ।

नेपालको पनि सिधै तेस्रो चरण पुग्ने सम्भावना सकिइसकेकोले नेपाल पनि यो सूचीमा थपिनेछ । यसबाहेक दक्षिण एसियाकै बंगलादेश र माल्दिभ्सले पनि प्लेअफ नै खेल्नुपर्ने सम्भावना धेरै देखिएको छ । बाँकी टिमको टुङ्गो समूह चरणका खेल सकिएपछि लाग्नेछ ।

अहिलेसम्म आयोजक चीनसंगै छनोट चरण पार गरेका जापान, कतार सिरिया एसिया कपका लागि छनोट भइसकेका छन् । यस्तै जापान र सिरिया विश्वकपका लागि तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् । कतार आयोजक देशको नाताले सिधै विश्वकपमा छनोट भइसकेको छ ।

कतारबाहेक बाँकी ७ समूहको विजेता र उपविजेतामध्ये उत्कृष्ट ५ गरी कुल १२ टिम एसियाबाट विश्वकपका लागि तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment