Comments Add Comment

कस्तो छ बालबालिकालाई कोरोनाबाट बचाउने तयारी ?

२५ जेठ, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरको दुई महिनाको अवधिमा २४,८२१ बालबालिका संक्रमित भए । २२ जनाको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मे महिनामा सबभन्दा धेरै १९ हजार १४३ बालबालिका संक्रमित भएका थिए ।

पहिलो लहरमा २१,५२३ बालबालिका संक्रमित भएका थिए, जसमध्ये ३८ जनाको मृत्यु भएको थियो ।

पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने र मृत्यु हुने बालबालिको संख्या उच्च छ । सम्भावित तेस्रो तथा चौथो लहर बालबालिका बढी जोखिममा पर्नसक्ने चेतावनी विज्ञहरुले दिएका छन् । सरकारले पनि देशभरका अस्पताललाई आफ्नो बेड क्षमताको २० प्रतिशत बालबालिकालाई छुट्याउन सरकारले निर्देशन दिइसकेको छ ।

बालबालिकाको उपचार प्रक्रिया नै फरक हुन्छ । अक्सिजन थेरापी, प्रयोग गरिने औषधि, उपकरण सबै फरक हुन्छन् । त्यसैले फरक खालको चूनौतीसँग लड्नका लागि हरेक तवरले स्रोत साधन तयारी अवस्थामा राख्नुपर्छ भन्ने सरकारको सोच हो ।

पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा बढी संक्रमित भएको र अब आउन सक्ने तेस्रो र चौथो लहरमा बालबालिका संक्रमित हुने बढी जोखिम रहेकाले पूर्वतयारीका लागि अस्पताललाई सजग गराएको मन्त्रालयले बताएको छ ।

कोरोनाको पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा चैतबाट सुरु भएको पुनः दोस्रो लहरले महामारीको रुप लिँदा ठूलो मानवीय क्षति भयो । संक्रमण तीव्र गतिमा फैलिँदा स्वास्थ्य प्रणालीले धान्न सकेन । अस्पतालहरुमो बेड र अक्सिजनको अभावमै संक्रमितहरुले ज्यान गुमाए ।

अर्को लहर आउँदा यस्ता नहोस् भनेर अस्पतालमा बालबालिका लक्षित पूर्वाधार निर्माणका लागि पूर्वतयारी थालिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । २०६८ सालको जनगणना अनुसार १८ वर्षमुनिका बालबालिका ४१.८४ प्रतिशत छ । कम्तीमा २० प्रतिशत बालबालिका संक्रमित भए भने पनि वेड उपलब्ध गराउन सकियोस् भनेर पूर्व तयारी थालिएको मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्याय बताउँछन् । उनले भने, ‘एकजना पनि बालबालिका संक्रमित नहोस् भन्ने हाम्रो कामना हो । तर महामारी हो । संक्रमण हुँदैन भनेर भन्न सकिन्न ।’

प्रस्तुत छ, यही विषयमा केन्द्रीत रहेर डा. उपाध्याय गरेको कुराकानीको सम्पादीत अंश :

कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका जोखिममा पर्छन् भन्ने आधार के हो ?

पहिलो लहरमा प्रौढ अवस्थाका मानिसमा संक्रमण बढी देखियो । दोस्रो लहरमा वर्किङ एज ग्रुपका युवा पुस्तामा संक्रमण बढी देखियो । शारीरिक रुपमा बलियो र सक्रिय रहने समूहमा संक्रमण देखिँदा संक्रमण बालबालिकामा पनि सर्न पुग्यो ।

दुधे बालकदेखि विद्यालय तहमा अध्ययन गर्ने बालबालिकासंक्रमित हुन पुगे । दोस्रो लहर यताको दुई महिनाको अवधिमा २४ हजार ८२१ बालबालिका संक्रमित भएका छन् । उनीहरुमध्ये २२ जनाको मृत्यु भएको छ । प्रत्येक दिन ८–१० प्रतिशत बालबालिका संक्रमित भइरहेका छन् ।

यसले के संकेत गर्छ भने कोरोना संक्रमणबाट बालबालिका बढी जोखिममा छन् । अन्य उमेर समूहको तुलनामा बालबालिका गम्भीर नदेखिएकै हो । तर भोलि बालबालिकामा संक्रमण गम्भीर नबन्ला भन्न सकिँदैन । बाहिर मुलुकको तथ्यांक हेर्ने हो भने पनि अब आउने लहरमा बालबालिकामा बढी जोखिम हुने अनुमान गर्न सकिन्छ ।

त्यही कारण हो, अस्पतालहरुमा बालबालिकालाई बेड तयारी गर्नु भनिएको ?

बालबालिकाको लागि उपचार गराउने सरकारी तथा निजी अस्पतालहरु सीमित छन् । सरकारी स्तरमा केन्द्रीय कान्तिबाल अस्पताल मात्रै छ । निजीमा दुई तीन वटा मात्रै बालबालिका केन्द्रित अस्पताल छन् ।

कल्पना गर्नुस् त, यही अनुपातमा बालबालिका पनि संक्रमित भएको भए के हुन्थ्यो होला ?

देशभर बालबालिका उपचार केन्द्रित अस्पतालको संख्या एकदमै न्यून भएको अवस्थामा भोलि आउन सक्ने महामारीबाट बालबालिकालाई जोगाउन पूर्वतयारी स्वरुप सरकारले आवश्यक पूर्वाधारको तयारी गर्न लागेको हो ।

कसरी हुनुपर्छ त पूर्वतयारी ?

हाल सरकारी तथा निजी अस्पतालमा पेड्रियोटिक वार्ड रहेपनि पेड्रियोटिक इन्टेन्सिभ केयर युनिटहरु एकदम कम छन् । अस्पतालमा रहेका एनआईसीयू बेड संख्याले पनि भोलिको महामारीलाई थेग्न सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा तेस्रो–चौथो लहर आउने हो भने त्यसले भयावह अवस्था सिर्जना गर्न सक्छ ।

देशभर बालबालिका उपचार केन्द्रित अस्पतालको संख्या एकदमै न्यून भएको अवस्थामा भोलि आउन सक्ने महामारीबाट बालबालिकालाई जोगाउन पूर्वतयारी स्वरुप सरकारले आवश्यक पूर्वाधारको तयारी गर्न लागेको हो ।

पहिलो–दोस्रो लहरमा संक्रमित हुने प्रौढ र युवालाई जेनतेन उपचारको व्यवस्थापन गर्न सक्यौं । तर बालबालिकालाई त्यसरी व्यवस्थापन गर्न सकिने अवस्था हुन्न । बालबालिकाको उपचार प्रक्रिया नै फरक हुन्छ । अक्सिजन थेरापी, प्रयोग गरिने औषधि, उपकरण सबै फरक हुन्छन् । त्यसैले फरक खालको चूनौतीसँग लड्नका लागि हरेक तवरले स्रोत साधन तयारी अवस्थामा राख्नुपर्छ भन्ने सरकारको सोच हो ।

सरकारले बालबालिकाकै लागि भनेर पेड्रियोटिक भेन्टिलेटर व्यवस्थापन गरिरहेको छ । अक्सिजन अभाव हुन नदिन १०० शय्या भन्दामाथिको अस्पतालहरुमा लिक्विड अक्सिजन प्लान्ट स्थापना भइरहेका छन् । अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरको पनि जोहो गरिरहेका छौं ।

हामीलाई पहिलो लहरमै संक्रमण टुँगिन्छ जस्तो लागेको थियो । दोस्रो लहर पनि आयो । त्यसैले तेस्रो, चौथो…नआउला भनेर भन्न सकिन्न । त्यसका लागि अहिलेदेखि नै काम गर्ने हो भने राम्रो पूर्व तयारी गर्न सकिन्छ । भोलि अरु नै रोगको संक्रमण आउँदा पनि त्यो तयारीले काम गर्न त सघाउँछ । अहिले पूर्व तयारी गरिएनन भने भोलि गाह्रो हुन सक्छ ।

कार्यान्वयनको चूनौती ?

मुख्य चूनौती भनेकै आधारभूत अत्यावश्यकीय उपकरण र ह्यूमन रिसोर्स नै हो । बालबालिकामा पेड्रियोटिक भेन्टिलेटर र आईसीयू सेट भिन्न हुन्छ । सबैतिर त्यो उपलब्ध नहुन सक्छ । बाहिरबाट आयात गर्नुपर्ने हुन्छ ।

पेड्रियोटिक इन्टेन्सिभ केयर युनिटसम्बन्धी ट्रेन्ड जनशक्ति अभाव हुन सक्छ । बालरोग विषेज्ञहरु त हुनुहुन्छ । बालरोगमै विज्ञता हासिल गरेका क्रिटिकल केयर, इन्फेक्टेड डिजिज लगायत हरेक कुरामा प्रौढ र युवाका लागि जति जनशक्ति छन्, त्यति छैन । पेड्रियोटिक नर्सिङ, जसले क्रिटिकल केयर गर्छ, त्यो समूहमा जनशक्ति कम छ । अहिले भएकै जनशक्तिलाई पनि तालिम दिने प्याकेज बनाउने तयारी सरकारले गरिरहेको छ । विज्ञहरुसँग यसविषयमा छलफल पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment