Comments Add Comment

कुनै पनि बहानामा घरमा सुत्केरी गराउनु हुँदैन : डा. संगीता मिश्रा

२५ जेठ, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको कारण यातायात ठप्प हुँदाको सिधा असर गर्भवतीहरुलाई पनि परिरहेको छ । यातायात नपाउँदा नियमित जाँचका लागि अस्पताल जान समस्या भएको छ ।

कतिपय गर्भवती भने अस्पतालमै संक्रमित भइने डरले नियमित परीक्षणमा गएका छैनन् । नियमित जाँच नगराउने गर्भवतीहरु कस्तो प्रशुती जोखिममा पर्छन् ? लगायत विषयमा अनलाइनखबरकी नुनुता राईले परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालकी प्रमुख डा.संगीता मिश्रासँग गरेको संक्षिप्त कुराकानी :

कोभिड–१९ को दोस्रो लहरमा नियमित जाँच गर्न अस्पताल आउने गर्भवती संख्या कस्तो छ ?

कोभिडको दोस्रो लहरमा भन्दा पनि निषेधाज्ञापछि नियमित जाँचमा आउनेको संख्या आधा घटेको छ । सामान्य समयमा दैनिक छ देखि साढे छ सय जना आउने गरेकोमा अहिले घटेर तीन सय देखि साढे तीन सय जना आइरहनुभएको छ ।

यसको कारण संक्रमणको डर हो कि निषेधाज्ञा ?

बढी त निषेधाज्ञाकै कारण हो । निषेधाज्ञाले गर्दा यातायात ठप्प भएकाले धेरै जना नियमित जाँचमा अस्पताल आउन सक्नुभएको छैन । संक्रमित हुने डरले अस्पताल नआउनेहरु पनि छन् । गर्भवती आफैं वा परिवार डराएर अस्पताल नआएको जानकारी हामीलाई छ, जुन एकदमै गलत हो ।

नियमित जाँच किन जरुरी छ ?

सामान्य अवस्थामा पनि सकेसम्म जाँचका लागि अस्पताल आउनु राम्रो हो । अस्पताल जान नसकिने अवस्था हो भने नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको परामर्श लिन जरुरी छ । आफ्नै हिसाबले म ठीक छु भनेर नियमित जाँच छुटाउन हुँदैन ।

आफूलाई केही असहज भएजस्तो लाग्दा वा समस्या हो कि भन्ने शंका भयो भने त झन् तुरुन्तै अस्पताल जानुपर्छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर अस्पताल जानैपर्छ । यो समयमा एकदमै सावधानी अपनाउनुपर्छ । सानो लापरबाहीले अर्कै समस्यामा पार्न सक्छ ।

निर्धक्क अस्पताल आउन सक्ने अवस्था छ त ?

अवश्य छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर हिँड्दा संक्रमणको सम्भावना न्यून हुन्छ । अस्पतालमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरिएको हुन्छ । त्यसैले संक्रमित हुने डरले अस्पताल नजानु गलत हुन्छ । त्यो डर हटाउन म आग्रह गर्छु ।

हो, अस्पतालमा संक्रमितलाई पनि जाँच र सुत्केरी गराइरहेका छौं । संक्रमित गर्भवतीहरुका लागि आवश्यक सब कुरा अलग छ । स्वास्थ्यकर्मीको टिम नै छुट्टै छ । अस्पतालमा भाइरस सर्ने डर मनबाट निकाल्नुहोस् । जाँच गर्न, सुत्केरी हुन अस्पताल आउनुहुन फेरि अनुरोध गर्छु ।

अस्पतालको सम्पर्क नम्बरमा हिजोआज कस्ता जिज्ञासा आउँछन् ?

केही अगाडिसम्म कोभिड संक्रमितको उपचार हुन्छ कि हुँदैन भनेर बढी सोधिन्थ्यो । आजभोलि अस्पताल खुला छ छैन, अन्य स्वास्थ्य समस्याको उपचार हुन्छ कि हुदैन भनेर सोधिन्छ । गर्भवतीको नियमित जाँच र प्रसुती सेवाबारे एकदम कम सोध्ने छन् ।

जुनसुकै कारणले घरैमा सुत्केरी गराउँदा हुने जोखिमहरु कस्ता छन् ?

पहिलो कुरा त कुनै पनि कारण वा बहानामा घरमा सुत्केरी गराउनै हुँदैन । घरमा सुत्केरी गराउँदा आमा र शिशु दुवै स्वतः जोखिममा पर्छन् । सुत्केरी गराउने क्रममा आइपर्ने जुनसुकै अप्ठ्यारो हटाउने ठाउँ भनेकै अस्पताल हो । त्यसैले घरमा सुत्केरी गराउने गल्ती नगरौं ।

कोरोनाको डरले अस्पताल नआएर भवितव्यमा परेका घट्नाहरु छन् ?

आजसम्म त्यस्तो दुखद् घटना सुन्न परेको छैन । मलाइ थाहा नभए पनि यस्तो घटना भइरहेको हुनसक्छ । यस्तो कुरा हत्तपत्त थाह पाइँदैन । यो पटक कोरोना संक्रामणबाटै धेरैको ज्यान गएको छ ।

अहिले अस्पतालमा नियमित सुत्केरी हुनेको संख्या कति छ ?

सामान्य समयमा दैनिक ७० देखि ८० जना सुत्केरी गराउँथ्यौं । अहिले यो संख्या ५५–६५ छ । नियमित परीक्षणमा आउनेको तुलनामा सुत्केरी हुन आउनेहरुको संख्या बढी छ । यो अलिकति सन्तोष दिने कुरा हो ।

यसपटक कत्ति जना संकमितलाई परीक्षण र सुत्केरी गराउनुभयो ?

हामीकहाँ भर्ना भएका ११६ संक्रमित गर्भवतीमध्ये ६६ जनालाई सुत्केरी गरायौं । यीमध्ये ३८ जनालाई शल्यक्रियाबाट सुत्केरी गरायौं । ११६ संक्रमितमध्ये ४१ जना गर्भवती कोभिडको सामान्य उपचारबाट निको भए । ५८ जना एचडीयू र ६ जना आईसीयूमा हुनुहुन्छ ।

संक्रमित आमाबाट जन्मेको बच्चामा कोरोना संक्रमणको जोखिम कति हुन्छ ?

अहिलेसम्मका अध्ययनहरुले गर्भमा कोरोना भाइरस सरेको देखाएको छैन । प्रसुती र त्यसपछि भने सावधानी अपनाउन पर्छ । आमाले मास्क अनिवार्य लगाउने, एकदमै सफा हातले बच्चा समाउने लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment