Comments Add Comment

केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन महन्थ ठाकुरले मागे थप एक साता

२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आयोगसंग थप एक साता समय मागेका छन् ।

गत जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । त्यसै दिन अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए ।

गत जेठ १९ गते निर्वाचन आयोगले दुबै अध्यक्षलाई पत्र लेखेर सात दिनभित्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा पेश गर्न आग्रह गरेको थियो । त्यससँगै आयोगले अध्यक्ष ठाकुरसँग भने केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीको हस्ताक्षर पनि माग गरेको थियो ।

केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाएका अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न मात्र भनिएको थियो ।

उपेन्द्र यादवले अनुचुची १८ बमोजिम फारममा विवरण पठाएको तर महन्थ ठाकुरबाट विवरण प्राप्त नभएको र थप एक साता समय माग भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जेठ १८ गते अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र आयोगमा दिँदा केन्द्रीय कार्यकारिणी समितिको निर्णयको हस्ताक्षर बुझाएका थिएनन् ।

यस्तै जेठ १८ गते नै अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहितका नेतालाई निष्कासनको निर्णय गर्दा केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment