Comments Add Comment

क्यान्सर अस्पताललाई राज्य नियन्त्रित अखडा बनाउने सरकारको नियत : कांग्रेस

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राखेको आरोप लगाएको छ ।

सरकारले बजेटमा ल्याएको क्यान्सर संस्थानको अवधारणामा ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत रहेको आरोप काँग्रेसले लगाएको हो । सरकारले ल्याएको व्यवस्थामा सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारी रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको काँग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै गम्भीर विमर्शपश्चात मात्रै उचित विकल्पको निष्कर्षमा पुग्नुपर्ने भन्दै क्यान्सर अस्पताल जस्तो संवेदनशील विषयलाई हाल यथास्थितिमा राख्न सरकारलाई चेतावनी दिएका छन् ।

‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी छ । त्यसका लागि स्थापित स्वास्थ्य प्रतिष्ठानहरू हाम्रो भरपर्दो आधार हुन् ।’ विज्ञप्तिमा भनिएको छ ‘त्यसका लागि सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र सशक्तिकरण गर्ने योजना उपयुक्त हुनेमा त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ ।’

शर्माले भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकारवालाहरूसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिको निश्चित नियतलाई प्रष्ट गरिसकेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment