Comments Add Comment
संसद विघटन मुद्दा :

न्यायाधीशले भने : जिम्मेवारीबाट भाग्दैनौं, यो बेञ्च नै फाइनल हो

वरिष्ठताकै आधारमा संवैधानिक इजलास

२६ जेठ, काडमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दाका लागि संवैधानिक इजलास पुनर्गठन नहुने भएको छ । सरकारी पक्षले न्यायाधीशद्धय दीपक कार्की र आनन्दमोहन भट्टराईबारे प्रश्न उठाएका थिए । तर बुधबार बसेको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निवेदकको तर्फबाट बहस सुरु गर्न अनुमति दिए ।

राजाराम घिमिरेले आफ्नो निवेदन सम्झएका थिए । तर जबराले बेञ्चलाई निरन्तरता दिने बताए ।

न्यायाधीश ईश्वर खतिवडाले संयोगले आफूहरु जिम्मेवारीमा आएको भन्दै भने, ‘अब यो जिम्मेवारीबाट भाग्दैनौं ।’

कहिले काँही शब्दबाट त कहिले मौनताबाट जवाफ हुने भन्दै उनले अब बेञ्च गठनबारे बहस नगर्न आग्रह गरे । उनले भने, ‘भोलि फाइनल लेख्ने बेला के गर्ने गरौंला, अब यो बेञ्च नै फाइनल हो ।’

प्रधानन्यायाधीश राणाले आइतबार आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवडा र डा‍. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरेका थिए ।

त्यसअघि गठन भएको इजलासका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसी विरुद्ध रिट निवेदकहरूले प्रश्न उठाएपछि प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा इजलास गठन गरेका थिए ।

विगतका १२ दिन बिर्सनलायक रहे : न्यायाधीश खतिवडा

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठनबारे विभिन्न प्रश्न उठेका छन् । सबै प्रश्नलाई ‘नोटिस’मा लिएका छौं । त्यो हाम्रो जानकारीमा छ । इजलासका सन्दर्भमा उठेका सबै प्रश्नको जवाफ शब्दले मात्रै दिँदैन, कहिलेकाहीँ मौनताले पनि प्रश्नको दिन्छ । प्रश्नलाई कुन ढंगबाट सम्बोधन गर्नुपर्छ वा पर्दैन त्यो हामी जान्दछौं ।

संवैधानिक इजलासमा सम्माननीय प्रधानन्यायाधीशको विकल्प छैन । संविधानले नै प्रधानन्यायाधीशको विकल्प दिँदैन । बाँकी हामी चार जना न्यायाधीश एउटै डुंगामा छौं । हामी रहरले आएका होइनौं, संयोगले जिम्मेवारी आएको छ अब यो जिम्मेवारीबाट हामी भाग्दैनौं ।

यो जिम्मेवारीअनुसार यो मुद्दालाई ‘लजिकल इन्ड’मा पुर्‍याउने हो । बेन्च गठनबारे अब कुनै प्रश्न नउठाउनु होला । हामी त्यो सुन्दैनौं ।

बेन्च गठनलाई अनावश्यक रुपमा विवादमा ल्याइयो । विगतका १२ दिन हामी सबैका लागि बिर्सनलायक रहे । अब यसमा नअल्झिएर बहसलाई अगाडि बढाऔं । अबदेखि बेन्च गठनको कुरामा बहस नउठाऔं ।

भोलि फाइनल (फैसला) लेख्ने बेला के गर्ने गरौंला । अब यो बेन्च नै फाइनल हो ।

न्यायाधीश ईश्वर खतिवडाले संवैधानिक इजलासमा राखेको भनाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment