Comments Add Comment

रौतहटमा तीनवटै सुरक्षा निकायले यसरी गरे उद्धार तालिम

२७ जेठ, रौतहट । रौतहटको गौर नगरपालिका–५ स्थित बरहवा ताल किनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको एकीकृत कार्यक्रम सञ्चालन भइरहेको स्थलभन्दा पश्चिम ताल किनारमा रहेको एउटा टहरो अचानक पानीमै खस्यो । टहरोभित्र र किनारमा रहेका मानिसहरु गुहार माग्दै कराउन थाले ।

गौर नगरपालिकाका प्रमुखसहित तीनवटै सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी बसेको स्थलभन्दा झण्डै सय मिटर पश्चिमबाट आएको त्यो आवाजले सबैको ध्यान उतै तान्यो । ताल किनारमा रहेका सुरक्षाकर्मीहरु तुरुन्त सतर्क भए, नजिकै रहेको रबर बोट लिएर उर्लिएको बरहवामा पसे र बगिरहेका दुई जनालाई किनारसम्म सुरक्षित पुर्‍याए । ताल किनारमै रहेको रेडक्रसको मेडिकल टिमले तुरुन्त उनीहरुको प्राथमिक उपचार गर्‍यो ।

बरहवा किनारमा दुई जनाको उपचार हुँदै गर्दा तालको दक्षिण–पश्चिमको किनारमा फेरि गाँउलेहरु चिच्याएको आवाज आउन थाल्यो । केही गाँउले बग्दै ‘बचाऊ बचाऊ’ भनेर कराइरहेका थिए । नदी किनारमा रहेको सशस्त्र प्रहरी र नेपाली सेनाको अर्को टोली रबर बोट लिएर डुबिरहेका गाँउलेतर्फ हुइँकिए तर गाँउलेलाई जोगाउन गएको सशस्त्र प्रहरीको रबर बोट बरहवाको भेलमा आफैं पल्टियो ।

नदी किनारमा रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गौर नगरपालिकाका मेयर अजय गुप्ता, नेपाल प्रहरीका एसपी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक सूर्य सेन वली र वीरदल गणका गणपति कर्णेल राजन दाहाल लगायतका अधिकारीहरु हेरेको हेर्‍यै भए । तालको पानीमा डुबेकालाई उद्धार गर्न भएको रबर बोटलाई सशस्त्र प्रहरीका उद्धारकर्ताहरुले फेरि पहिलेकै अवस्थामा ल्याउँदै बगेकाहरुको उद्धार गरी नदी किनारमा ल्याए ।

०००

बिहीबार बरहवा तालमा देखिएको यो दृश्य वास्तविक नभएर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको अनुशिक्षण उद्धार तालिमको नमुना प्रर्दशनी थियो । बरहवामा डुबेका ती गाँउलेहरु सबै सुरक्षाकर्मीहरु नै थिए । तीनवटै सुरक्षा निकायको संयुक्त अभ्यासको बिहीबार तेस्रो तथा अन्तिम दिन नमुना प्रदर्शन कार्यक्रममा विपद् र विपद्पछि तत्काल उद्धार गर्न तालिमप्राप्त उद्धारकर्ताहरुले आफ्नो कला प्रदर्शन गरेका थिए ।

यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान रहेकाले विपद् व्यवस्थापन समितिको आयोजनमा अभ्यास कार्यक्रम सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रदेश २ को रौतहटमा बाढी र डुबानको समस्या वर्षेनी धेरै आउने गरेको छ । विपद्भन्दा पहिलेको पूर्वतयारीको अभ्यासले समस्या परेका बेला तत्काल समन्वय गरेर जनधनको क्षति कम गर्न सकिने प्रजिअ यादवले बताए । वर्षाका बेला सजग रहन तथा पूर्वतयारीका साथ विपद् कम गर्न जिल्लाको विपद् व्यवस्थापन समितिले काम गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment