Comments Add Comment

गाउँका नागरिक कोरोना परीक्षण गराउन किन मान्दैनन् ?

२८ जेठ, काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–८ मा गतहप्ता दुई जना पुरुषको मृत्यु भयो । त्यसमध्ये एकजना ७० वर्षीय वृद्धमा कोरोनासँग मिल्दो लक्षण थियो । एन्टिजेन परीक्षण गराउन खोज्दा उनी मानेका थिएनन् । त्यसको केही दिनमा उनको मृत्यु भयो ।

फिदिम नगरपालिकाको जस्तो समस्या अहिले धेरै ग्रामीण क्षेत्रका स्थानीय तहहरुले भोगिरहेका छन् । परीक्षण गर्न नमान्दा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा समस्या भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् ।

कोरोनासँग मिल्दो लक्षण देखिएका व्यक्तिहरु पनि सामान्य रुघाखोकी सम्झेर निस्फिक्री हिँड्ने गरेका कारण कोरोना रोकथाम तथा नियन्त्रणमा चूनौती थपिएको उनीहरुको गुनासो छ ।

मौसमी रुघाखोकी लाग्ने मौसम भएको र कोरोना सामान्य रुघाखोकी मात्रै हो भन्ने आम बुझाइले गर्दा कतिपय स्थानीय तहका जनप्रतिनिधि समेत परीक्षण गर्न नमानेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङ्बो आफ्ना नागरिकलाई कोरोना परीक्षण गर्न आउनू भन्दै आफैं गाउँगाउँ हिँड्ने गरेका छन् ।

कोरोनासँग मिल्दो लक्षण भएका व्यक्तिको फिदिम नगरपालिकामा मृत्यु भएपछि भने नागरिकमा सोच परिवर्तन भएको नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ बताउँछन् । ‘केही नागरिक परीक्षण गर्न आनाकानी गर्थे । त्यो घटनाले आनाकानी गर्नेलाई सबक मिलेको छ,’ उनले भने, ‘अहिले जाँच गराउन आफैं वडामा नाम टिपाउँछन् ।’

नगरपालिकामा एक हजार भन्दा बढीको पीसीआर एवं एन्टिजेन परीक्षण गरिएकोमा ५० प्रतिशतमा संक्रमण पुष्टि भएको उनले बताए । नगरपालिकाले अहिले हरेक वडामा एन्टिजेन परीक्षण गरिरहेको उनले बताए ।

भोजपुरको टेम्के मैयुङ गाउँपालिकाले पनि त्यही समस्या झेल्नु परेको छ । यो गाउँपालिकाले त नागरिक मात्रै हैन वडाका जनप्रतिनिधी समेत रुघाखोकी भन्दै परीक्षण गर्न नमान्ने गरेको गाउँपालिका अध्यक्ष ध्रुव राई गुनासो गर्छन् । आइसोलेसनमा बसेका कोरोना संक्रमित ६४ वर्षीय पुरुषको मृत्यु भएपछि भने कोरोना परीक्षणका लागि गाउँलेले सोध्न थालेको उनी बताउँछन् ।

‘गाउँगाउँमा कोरोनासँग मिल्दो लक्षण देखिएका नागरिक धेरै छन् । परीक्षण गर्न बोलाउँदा समेत उनीहरु आउँदैनन्,’ अध्यक्ष राईले भने, ‘शहरमा बसेका आफन्तले आफ्ना परिवारका सदस्यलाई सम्झाइदिन अनुरोध गर्छन् ।’

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङ्बो आफ्ना नागरिकलाई कोरोना परीक्षण गर्न आउनू भन्दै आफैं गाउँगाउँ हिँड्ने गरेका छन् । एन्टिजेन परीक्षण गराउन गाउँ पुगेका स्वास्थ्यकर्मीको टोलीले लक्षण देखिएका स्थानीयले समेत परीक्षण गराउन नमानेको गुनासो गरेपछि आफ्ना जनतालाई सम्झाई बुझाई गर्न आफैं हिँड्नु परेको उनी बताउँछन् ।

‘गाउँमा धेरै जनालाई रुघाखोकी, ज्वरो आउन थालेपछि परीक्षण गर्न जाँदा नमानेको गुनासो आयो,’ अध्यक्ष मेन्याङ्बोले भने, ‘त्यसपछि म आफैं स्वास्थ्यकर्मीसँग हिँडे । धेरै सम्झाई-बुझाई गरेपछि मात्रै उहाँहरु परीक्षण गर्न तयार हुन्थे ।’ यसरी करिब तीन सय जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

सर्वसाधारण नागरिकमा सचेतना फैलाउन सके परीक्षणबारेको भ्रम चिर्न सकिने फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलको बुझाइ छ ।

केही दिन यता फुङलिङ नगरपालिकामा संक्रमितको संख्या कम भएको छ । ११ जना संक्रमितको मृत्यु भएको नगरपालिकामा ६ सय जनाको परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमणको पुष्टि भएको थियो । मृतकको संख्या बढ्न थालेपछि नगरपालिकाले परीक्षण दर तीव्र बनायो । तर लक्षण देखिएको धेरै जना एन्टिजेन परीक्षण गराउन नमानेपछि समस्या उत्पन्न भयो ।

नगरपालिकामा रुघाखोकी, ज्वरोको विरामी बढे । तर परीक्षण गर्न तयार भएनन् । उनीहरुलाई परीक्षण गराउनुको फाइदा, महत्वबारेमा निक्कै सम्झाई बुझाई गर्नुपरेको मेयर छत्रपति प्याकुरेल बताउँछन् । उनी भन्छन् ‘शुरुमा परीक्षण गराउनको लागि निक्कै सम्झाउनु पर्‍यो । अहिले सहज भएको छ । समयमा सचेतना फैलाउन नसक्दाको परिणाम थियो ।’

सर्वसाधारण नागरिकमा सचेतना फैलाउन सके परीक्षणबारेको भ्रम चिर्न सकिने उनको बुझाइ छ । परीक्षणको दायरा फराकिलो पारेर संक्रमितलाई आइसोलेसनमा सुरक्षित राखेकै कारण अहिले स्थिति नियन्त्रणमा आएको मेयर प्याकुरेलको दाबी छ ।

नागरिकले कोरोना परीक्षण गर्न मान्दैनन् भन्नु भन्दा पनि परीक्षण गराउनुको फाइदाबारे जनप्रतिनिधि, नागरिक अगुवा, शिक्षित वर्गले सचेतना फैलाउने सके परीक्षणमा सहजता आउने उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment