Comments Add Comment

पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने

फाइल तस्वीर

२८ जेठ, काठमाडौं । सरकारले नेपालको पुरानो नक्सा प्रकाशित भएको पाठ्यपुस्तकको पाना परिवर्तन गर्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशकबाट अघिल्ला वर्ष प्रकाशन भएको पाठ्यपुस्तकबाट पुरानो नक्शा भएको पाना झिकेर नयाँ नक्सासहितको पाना समावेश गर्न लागेको हो ।

सरकारले गतवर्ष लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । नयाँ नक्सा जारी हुनुअघि प्रकाशन भएको विद्यालयस्तरको पाठ्यपुस्तक अहिले पनि प्रचलनमा रहेको पाइएपछि सरकारले ती पाठ्यपुस्तकको पाना फेर्न लागेको हो ।

शुक्रबार बसेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकले गत वर्ष पुरानो नक्सासहित छापिएको पुस्तकको पानालाई संशोधन गर्ने निर्णय गरेको हो । जनक शिक्षा सामग्री एवं निजी प्रकाशन गृहले नयाँ नक्सा जारी हुनुअघि प्रकाशन गरेको पुस्तकको पाना संशोधन गरिने जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

गत बुधबार शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री वितरण गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए । पुस्तक सबै प्रादेशिक कार्यालयमा पठाइसकिएको र बिक्री वितरण पनि शुरु भइसकेकोले वितरक, विद्यालयमार्फत संशोधन गर्ने निर्णय भएको प्रबन्ध निर्देशक झाले बताए ।

उनले भने ‘हामीले सबै किताब प्रादेशिक कार्यलयमा गइसकेको छ । त्यसैले वितरक र विद्यालयमार्फत पेज रिप्लेस गर्ने निर्णय गरेका छौं ।’ कक्षा ५, ७, ८ को केही प्रतिशत किताबको एउटा पेजमा पुरानो नक्सा छापिएको भेटिएको र अरु किताबमा पनि अनुगमन भइरहेको उनले बताए । देशभर जनक शिक्षा सामग्रीको करिब १२ सय वितरक छन् ।

मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राख्न र शिक्षक तथा पुस्तक बिक्रेताहरुलाई कोरोना महामारी विरुद्धको खोप दिन अनुरोध गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment