Comments Add Comment

खोप माग्दै ट्यांकर चालक आन्दोलनमा, वाग्मतीमा पेट्रोलियम ढुवानी अवरुद्ध

३० जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप नलगाइदिएको भन्दै ट्यांकर चालकले आन्दोलन गरेपछि वाग्मती प्रदेशमा पेट्रोलियम ढुवानी अवरुद्ध भएको छ ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आह्वानमा संघको वाग्मती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी आइतबारदेखि रोकिएको छ । चालकको आन्दोलनका कारण प्रादेशिक डिपोमा अमलेखगञ्ज डिपो र बरौनीबाट हुने ढुवानीसमेत अवरुद्ध भएको छ ।

संघका अध्यक्ष ईश्वर लामाले कोरोना महामारीका कारण चालक तथा तिनका परिवारको ज्यानै जाने अवस्था आउँदा पनि डिपोले खोपको व्यवस्था नगरेका कारण आन्दोलन गरेको बताए । ‘अमलेखगञ्जमा एक जना चालकको ज्यान गयो, कयौं साथीहरु अझै गम्भीर संक्रमण भएर बसेका छन्, हाम्रो सुरक्षामा उदासीनता देखाइयो,’ अध्यक्ष लामाले भने ।

निगमको वाग्मती प्रदेश कार्यालय डिपो थानकोटका डिपो प्रमुख अभिषेक ठाकुरले अत्यावश्यक सेवा नरोक्न ट्यांकर चालकलाई सम्झाउने प्रयास भइरहेको बताए । ‘हामीलाई जोखिम छ, जसरी पनि खोपको व्यवस्था गरिदिन पर्‍यो भन्ने उहाँहरुको माग छ, आज बिहानैदेखि पम्पहरुमा हुने ढुवानी रोकिएको छ,’ उनले भने ।

प्रादेशिक डिपो मातहतका झण्डै पाँच सय ट्यांकरमध्ये निषेधाज्ञाको समयमा दैनिक १२० ट्यांकर पालो गरेर सञ्चालन भइरहेका थिए ।

ट्याङ्कर चालक संघले चालकलाई खोपको व्यवस्था गरिदिन डिपोमामा गरेको आग्रह निगमको मुख्य कार्यलय र स्वास्थ्य मन्त्रालयमा पठाएको तर खोप उपलब्ध हुन नसकेको ठाकुरले बताए ।

‘खोप दिलाइदिन कार्यालयले सबै पहल गरेपनि सरकारसंग खोप नभएकाले उपलब्ध हुनै सकेन, यसैको बहानामा अत्यावश्यक सेवा रोक्नु हुन्न,’ ठाकुरले भने । ट्यांकर चालकलाई खोप उपलब्ध गराउन निगमले पहल गरे पनि खोप नपाइएको निगमका प्रवक्ता विनित मणि उपाध्ययाले बताए ।

‘निगमले पहल गरेकै हो, खोपको अभाव मुलुकको समास्या भइसकेको छ, तर यसैलाई लिएर अत्यावश्यक सेवा रोक्नु हुन्न,’ प्रवक्ता उपाध्ययले भने । चालकहरुको आन्दोलन समाधानका लागि निगमका उच्च नेतृत्व वार्ताका लागि थानकोटतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment