Comments Add Comment

नेपाली क्रिकेट टिमको जर्सीको डिजाइन आह्वान, उत्कृष्टले १ लाख पाउने

फाइल तस्वीर

३१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको डिजाइन खुल्ला प्रतिस्पर्धाबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको हो ।

क्यान र एमएसटीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएका छन् । जर्सीको डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको दुवै भागलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्नेछ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै जर्सीको डिजाइन गर्नुपर्ने क्यानले जनाएको छ ।

क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको छ । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँ पाउनेछ ।

नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोस्रो श्रृङ्खलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । जर्सीको डिजाइन यही जुन १७ तारिखसम्म क्यानको अफिसियल इमेल [email protected] मा पठाउनुपर्नेछ ।

जर्सी छनोट समितिमा क्यानको तर्फ़बाट २ जना र एडप्याडको तर्फ़बाट १ जना रहनेछन् ।

यसैबीच माई सेकेण्ड टिचरले यसै महिनाको सुरुवातमा आयोजना भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाख रुपैयाँ दिने भएको छ ।

उक्त श्रृङ्खलाका क्रममा डेब्यु गर्ने चार जना खेलाडी कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद एक लाख रुपैयाँ केही दिनमा नै हस्तान्तरण गर्ने माई सेकेन्ड टिचरका संस्थापक सुलभ बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment