News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले चारै खेल जित्दै अपराजित रूपमा जितेको छ।
- मोरङ तीन जितसहित उपविजेता बन्यो भने झापा तेस्रो, सुनसरी चौथो र इलाम पाँचौं स्थानमा रहे।
- उदयपुरका धवन साहनीले १४६ रन बनाउँदै सर्वाधिक रनकर्ता र मोरङका अमर यादव ११ विकेटसहित सर्वाधिक विकेटकर्ता बने।
- प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई विराटनगर किङ्सको डेभलपमेन्ट स्क्वाडमा समावेश गरिनेछ।
७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले जितेको छ ।
विराटनगरस्थित मरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको राउन्ड–रोबिन लिग चरणमा उदयपुरले चारै खेल जित्दै अपराजित रूपमा उपाधि जितेको हो ।
कोशी प्रदेशका उदयपुर, मोरङ, झापा, सुनसरी र इलाम गरी पाँच जिल्ला टोली सहभागी प्रतियोगिताको उद्देश्य ग्रासरुट स्तरका युवा क्रिकेट प्रतिभाको पहिचान गरी उनीहरूलाई व्यावसायिक मञ्च उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ ।
उदयपुरले ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै चारै खेल आफ्नो पक्षमा पार्यो । मोरङले तीन जितसहित उपविजेता बन्दै प्रतियोगिता टुङ्ग्यायो भने झापा तेस्रो, सुनसरी चौथो र इलाम पाँचौं स्थानमा रह्यो ।
व्यक्तिगत प्रदर्शनतर्फ उदयपुरका धवन साहनीले प्रतियोगिताभर १४६ रन बनाउँदै सर्वाधिक रनकर्ताको सम्मान हात पारे । उनका टोलीका साथी आदित्य बिकले १०२ रन जोड्दै दोस्रो स्थान हासिल गरे। बलिङतर्फ मोरङका अमर यादव ११ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडी बने भने उदयपुरका नवराज सिग्देलले ६ विकेट लिए ।
प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई विराटनगर किङ्सको डेभलपमेन्ट स्क्वाडमा समावेश गरिनेछ । उनीहरूले राष्ट्रिय टोलीका मार्की खेलाडी सन्दीप लामिछानेसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूसँग विशेष प्रशिक्षण गर्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4