+
+
Shares

सबै लक्षण कोरोनासँग मिल्छ, पीसीआर रिपोर्ट नेगेटिभ

जनक विष्ट जनक विष्ट
२०७८ जेठ ३१ गते १५:२१

३१ जेठ, धनगढी । स्वास्थ्यमा समस्या देखिएपछि एक साता अघि  कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भुजेलाकी ६५ वर्षीया वृद्धा महाकाली अस्पताल भर्ना भइन् । रुघाखोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएकाले चिकित्सकले कोरोना संक्रमण भएको आशंकामा उपचार थाले ।

तर स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । फोक्सोमा निमोनिया देखिएका कारण चिकित्सककै सल्लाहमा दोहोर्‍याएर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ नै आयो । तर फोक्सोको सिटी स्क्यान गरेर हेर्दा कोभिड निमोनिया भएको पुष्टि भएको महाकाली अस्पतालका डा. गोविन्द रोकाया बताउँछन् ।

अस्पताल आउँदा उनको अक्सिजन लेबल ६० प्रतिशतमा झरेका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर उनलाई बचाउन नसकिएको उनले बताए ।

डा. रोकायाका अनुसार पछिल्लो समय अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका र कोभिड निमोनिया भएका बिरामी उपचारका लागि आउने क्रम बढ्दो छ । तर उनीहरुको पीसीआर परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आउने गरेको छ । ‘त्यस्ता बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि छातीको सिटी स्क्यान गर्दा कोभिड निमोनिया देखाउँछ,’ रोकायाले भने, ‘लक्षण सबै कोभिडको मिल्ने भएकाले कतै अर्को भेरियन्ट त फैलिएन भन्ने हाम्रो आशंका छ ।’

सेती अस्पतालमा दैनिक ८/१० बिरामी पुग्छन्

धनगढीको सेती प्रादेशिक अस्पतालमा पनि कोरोनासँग मिल्दोजुल्दो सबै लक्षण भएका, तर पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आउने बिरामी आउन थालेका छन् ।

प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा अहिले दैनिक ८/१० जना यस्ता बिरामीहरु आइपुग्छन् । अस्पतालको इमरजेन्सी वार्डका इन्चार्ज भरत खातीले भने, ‘उनीहरुमध्ये १/२ जनालाई अक्सिजन सपोर्ट अनिवार्य चाहिने हुन्छ । केहीमा निमोनिया समेत देखिएको छ ।’ पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएका उनीहरुमध्ये कतिपयको उपचारको क्रममा मृत्यु हुन्छ ।

परीक्षण गर्न जरुरी छ

सेती प्रादेशिक अस्पतालको कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमर पनि कोरोनाको नयाँ भेरियन्ट फैलिएको छैन भनेर भन्न नसकिने बताउँछन् ।

अधिकांश बिरामीमा एउटै खालको समस्या देखिरहेकाले समयमै चनाखो हुनुपर्ने उनले बताए । ‘सबै लक्षण हुँदाहुँदै पनि कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएका केसहरु थुप्रै छन्,’ डा. कमरले अनलाइनखबरसँग भने, ‘पीसीआर रिपोर्टले मात्र मानिंदैन । एक्सरे, अल्टासाउण्डदेखि ब्लड लगायतका जाँचहरु हुन्छन् । सबैले प्रमाणित भए यो रोग हो भनेर भन्न सकिने अवस्था हुन्छ ।’

कतिपय मानिसमा यसअघि नै संक्रमण भएको तर भाइरस निर्मूल भइसकेको अवस्था पनि हुनसक्ने बताए ।

भाइरसको स्वरुप परिवर्तन भएर आउँदा पनि पीसीआर मेसिनले पुष्टि गर्न नसक्ने हुनाले शंकास्पद लक्षण भएका व्यक्तिको नमुना परीक्षणका लागि नेपाल बाहिर पठाउनुपर्ने उनको सुझाव छ । ‘कोरोनाको भेरियन्ट चेन्ज भएर आयो भने पनि मेसिनले पिकअफ गर्न नसक्ने हुनसक्छ,’ उनले भने, ‘भेरियन्टको अध्ययन गर्न शंकास्पद केसको नमुना परीक्षण गर्नुपर्छ ।’

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अहिलेसम्म अस्पतालमा तेस्रो भेरियन्ट भएको आशंका गरिएका बिरामी भर्ना भएको विषयमा जानकारी प्राप्त नभएको जनाएको छ ।

मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख समेत रहेका प्रवक्ता नरेन्द्रसिंह कार्कीले आवश्यक भए प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामार्फत परीक्षणका लागि पठाइने बताए । ‘नयाँ भेरियन्टका आशंका गरिएका बिरामी अस्पताल आउन थालेका छन् भनेर अहिलेसम्म जानकारी गराइएको छैन,’ कार्कीले भने, ‘यदि त्यस्तो रहेछ भने यकिन गर्न नमुना संकलन गरेर परीक्षणका लागि पठाउँछौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?