Comments Add Comment

खेलाडीमा फाइटिङ स्पिरिट विकास भएको छ : किरण चेम्जोङ

फाइल तस्वीर

३१ जेठ, काठमाडौं । कुवेतमा विश्वकप छनोट र एसियन कपको छनोट फुटबल प्रतियोगिता खेलेर नेपाली टिम आइतबार साँझ स्वदेश फर्किएको छ । यो पटकको भ्रमण उपलब्धिमूलक रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् ।

काठमाडौंमा सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कप्तान किरणले नेपाली टिमले विगतमा भन्दा राम्रो प्रदर्शन गरेको बताए । समूह तालिकाको चौथो स्थानमा रहँदै कतार विश्वकप छनोट यात्राको दोस्रो चरण समाप्त हुँदा नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको छ भने एसिएन कपमा छनोट हुन प्लेअफको आशा मात्र बाँकी छ । नेपाल फर्किएपछि कप्तान चेम्जोङसँग गरिएको कुराकानी :

कुवेत भ्रमण समग्रमा कस्तो रह्यो ?

कुवेतको तीनवटै खेल हेर्दा सुधारिएको देखेको छु । हामीले हाम्रो बलियो पक्षलाई केलाउँदै अगाडि बढ्नुपर्छ । आउँदा दिनमा सकारात्मक विषयमा विशेष ध्यान दिनुपर्छ । यसरी नै अगाडि बढ्दा नेपालको फुटबल विकासले गति लिन सक्छ ।

चाइनिज ताइपेईसँगको खेलमा हामीले विगतको नतिजालाई निरन्तरता दिन सक्यौं । जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने विगतको नतिजालाई क्रमभंग गर्ने लक्ष्य पूरा हुन सकेन । हामी कहाँ चुक्यौं ?

पहिलो लेग उसकै घरेलु मैदानमा जितेकाले दोस्रो लेगमा पनि सुखद नतिजा निकाल्न हामी पूर्ण रुपमा तयार थियौं । कुवेत जानुअघि इराक भ्रमण गरेर लिएको उपलब्धिले हाम्रो मनोबल बढ्यो । कोच र असिस्टेन्ट कोचले दिएको निर्देशनलाई खेल अवधिभर पालना गर्‍यौं । पेनाल्टीबाट अग्रता लिएसँगै खेलाडीमा हौसला मिल्यो । पछि दोस्रो गोल पनि निस्कियो ।

जोर्डनविरुद्धको खेल टफ थियो । पहिलो लेगमा गोलको मार्जिन धेरै थियो । पहिलो लेगमा पेनाल्टीबाट हामी पछि परेका थियौं । दोस्रो लेगमा पनि सोही अवस्था भयो । नचाहँदा नचाहँदै गल्ती भयो । सामान्य गल्तीले खेल गुमाउन पुग्यौं । सुधारको प्रयास गरे पनि अलमलमा पर्‍यौं । अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिए पनि ३–० ले हार्‍यौं । समग्रमा राम्रो प्रदर्शन गरेका हौं ।

अस्ट्रेलियासँगको खेललाई कसरी नियाल्नुहुन्छ ?

उत्कृष्ट टोलीसँग खेल्न पाउनु हाम्रो लागि मौका रह्यो । पहिलो लेगभन्दा दोस्रो लेग फरक थियो । पहिलो लेगमा फिल्ड सेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो । पहिलोमा हामी अनुभव बटुल्ने लक्ष्यमा थियौं भने दोस्रो लेगमा प्रतिस्पर्धात्मक फुटबल खेल्ने लक्ष्य राखेका थियौं । सोही अनुसार तयारी पनि गरेका थियौं । पहिलो हाफमा १० खेलाडीमा सीमित भए पनि समग्र टोली एक बनेर खेल प्रदर्शन गर्न सफल भयौं ।

वान म्यान डाउनमा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौं । अस्ट्रेलियासँगको खेलमा नेपाली खेलाडीले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु । एसियाको पावर हाउससँग खेल्न पाउँदा हाम्रो लागि अनुभव भयो । आउँदा दिनमा अन्य एसियाका पावर हाउससँग खेल्नुपर्छ र पाउँ भन्ने हाम्रो अपेक्षा छ । कोरिया, जापान, इरान जस्ता टोलीसँग खेल्न पाउँ ।

बलियो टोलीसँग खेल्न पाउँदा नेपाली  फुटबलको स्तर सुधारिन्छ । जितका लागि  खेल्नुभन्दा पनि अनुभवका लागि यस्ता खेलले धेरै सहयोग गर्छ । नेपालले पनि प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्वभर जान्छ । ठूलो अन्तरले हारेको भए पनि दोस्रो पटक आमनेसामने हुने अवसर पाउँदा सुधारिएको खेल देखायो भन्ने सन्देश दिन सक्छौं भन्ने अस्ट्रेलियासँगको खेलले प्रमाणित गरेको छ ।

प्रशिक्षक अल्मुताइरीको रणनीति भ्रमणमा सफल भएको हो ?

कोचको निर्देशनले धेरै अर्थ राख्छ । कोचले बाटो देखाउने हो । नेपाली टोलीलाई सम्हाल्नु भएका नयाँ प्रशिक्षक अबदुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’ भरिदिन भएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौं भन्ने मानसिकता भरिदिनुभएको छ । उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौ भन्ने मानसिकता विकास भएको छ । नयाँ खेलाडीमा फाइटिङ स्प्रिट विकास भएको छ । प्रशिक्षकको योजना फुटबललाई एक स्टेप माथि लैजाने छ । त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौं ।

आउँदा दिनमा नेपाली टोलीले कुवेत भ्रमणमा गरेको प्रदर्शनलाई निरन्तरता दिन कस्तो किसिमको योजना आवश्यक छ ?

एन्फा र नेपाल सरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनुपर्छ । बलियो टोलीसँग पटक–पटक मैत्रीपूर्ण खेल खेल्दै कमी कमजोरी सुधार्दै समग्र खेल सुधारको बाटो अँगाल्न सकिन्छ ।

व्यावसायिक हिसाबले लिगहरु सञ्चालन हुनुपर्छ । फुटबल खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर व्यस्त गराउनुपर्छ । हामीभन्दा माथिल्लो र तल्लो स्तरको देशहरुसँग बारम्बार मैत्रीपूर्ण खेल धेरैभन्दा धेरै खेल्नुपर्छ ।

यस्तो भएमा नेपाली फुटबलको नतिजा राम्रो हुन्छ । खेलाडीका लागि पनि यस्ता योजनाले हौसला मिल्छ । ठूलो टोलीसँग पटक–पटक खेल्न पायौं भने अवश्य नै हामीले सुधारिएको खेल देखाउन सक्छौं । कमी कमजोरीहरुलाई नियाल्न सक्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment