Comments Add Comment

माडीमा अयोध्यापुरी अन्वेषण गर्न १ करोड बजेट 

माडीमा बनाइएको राम-सीताको मन्दिर

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो रहेको चितवनको माडी नगरपालिकामा अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले पुरातत्व विभागमार्फत खर्च गर्ने गरी सो रकम विनियोजन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिका रुपमा यो स्थान रहेको बताएपछि माडी चर्चामा आएको थियो । सोही अनुसार उनले त्यहाँ राम, सीता र लक्ष्मणका मूर्ति समेत स्थापना गराइसकेका छन् ।

तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालसहितको टोलीले गत रामनवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बनाउन लगाएका राम, सीता र लक्ष्मणका मूर्ति माडीमा पुर्याइ स्थापना गरेका थिए । आगामी आर्थिक वर्षको बजेट भाषणको क्रममा अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीका लागि रकम विनियोजन गरेको जानकारी गराएका थिए ।

माडीमा संघीय सरकारबाहेक स्थानीय तहबाट कार्यान्वयन हुने गरी थप बजेट समेत विनियोजन भएको छ । पर्यटन मन्त्रालयका अनुसार यहाँ पाँच पाण्डव कुण्ड संरक्षण गर्न ८ लाख रुपैयाँ स्थानीय तहबाट खर्च हुने गरी विनियोजन भएको छ । सोही नगरपालिकामा निर्माणाधीन शनि मन्दिरको निर्माण कार्य सम्पन्न गराउन र प्राकृतिक तालको संरक्षण गर्न समेत १० लाख रुपैयाँ विनियोजन भएको छ । यो स्थानीय तहमा हस्तान्तरण भएको योजना हो ।

पुरातात्विक स्थल संरक्षणमा ४८ करोड बजेट

आगामी वर्ष पुरातत्व विभागमार्फत देशभरका पुरातात्विक स्थलको संरक्षणमा मात्र ४८ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट छुट्याइएको छ । त्यसमध्ये एक करोड अयोध्यापुरीले पाएको हो ।

मन्त्रालयका अनुसार आगामी वर्ष सांस्कृतिक स्थलको संरक्षणतर्फ मठमन्दिर, पाटी–पौवामा पूर्वाधार निर्माण तथा संरक्षणमा बढी रकम छुट्याइएको छ । संघीय सरकारबाट कार्यान्वयन हुने रकमको न्यूनतम सीमा ५ लाख राखिएको छ ।

प्यूठानको स्वर्गद्वारी मन्दिरमा यज्ञशाला निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । धनुषाको जानकी मन्दिर संरक्षणमा समेत संघीय सरकारले बजेट राखेको छ । यो रकम भूकम्पपछिको पुनर्निर्माणमा छुट्याइएको रकमबाहेकको हो ।

पुरातत्व विभागको सहभागितामा काम भए पनि पुनर्निर्माणको बजेट भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत आउँछ ।

से–फोक्सुण्डोलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने

पुरातत्व विभागमार्फत सरकारले आगामी आर्थिक वर्षमा से–फोक्सुण्डो क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने भएको छ । यो क्षेत्रलाई मिश्रित (प्राकृतिक तथा सांस्कृतिक) विश्व सम्पदा सूचीमा राख्न आवश्यक पूर्वाधार तयार गर्न अध्ययन, अनुसन्धान तथा अभिलेखन शुरु गर्ने मन्त्रालयको तयारी छ । सो प्रयोजनका लागि मात्र मन्त्रालयले आगामी आवमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पर्यटकीय पूर्वाधारमा १ अर्ब २४ करोड खर्च गरिने

सरकारले आगामी आर्थिक वर्षमा सांस्कृतिक सम्पदा बाहेकका पर्यटन पूर्वाधार निर्माण तथा संरक्षणको काममा कुल १ अर्ब २४ करोड खर्च गर्ने भएको छ । यो रकम पर्यटन विभागमार्फत खर्च हुनेछ । पर्यटन पूर्वाधार आयोजना नाम दिइएको यस कार्यक्रममार्फत पदयात्रामार्ग निर्माण तथा स्तरोन्नती गर्न बजेट विनियोजन गरिएको छ ।

यसै बजेटबाट सात प्रदेशमा निर्माण हुने एक/एक पर्यटकीय पूर्वाधारका लागि कुल ६ करोड रुपैयाँ बजेट जाने छ । हिमाल आरोहणमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गर्न आगामी आवमा २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । नारायणी नदी किनारमा लाइटिङसहितको फुट टे«ल बनाउन २ करोड बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीले कहाँबाट पाए अयोध्यापुरीको ‘दिव्यज्ञान’ ? यो पनि पढ्नुहोस परराष्ट्रको स्पष्टीकरण : अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक होइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment