Comments Add Comment

नारायणी र राप्तीमा बाढी, पश्चिम चितवनमा कटान

१ असार, चितवन । अविरल वर्षाका कारण चितवनका ठूला नदी राप्ती र नारायणीमा पानीको सतह बढ्दै गएको छ । सोमवारदेखि नै पानी निरन्तर परिरहेकाले अझै पानीको सतह बढ्ने अनुमान गरिएको छ ।

पानीको सतह बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ र २८ मा नारायणी नदीले कटान सुरु गरेको वडा नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिए । उनले नदी वरपरका वासिन्दालाई सचेत अवस्थामा बस्न भनिएको जानकारी दिए ।

नदीको कटानलाई रोक्न ठूलाठूला ढुंगा ल्याएर राख्ने क्रम चलिरहेको बेला बाढी आएकाले काम प्रभावित भएको र जोखिम बढेको उनको भनाइ छ ।

उद्धारकर्मी तयारी अवस्थामा

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख ओम लामिछानेले बाढी र पहिरोबाट जिल्लामा अहिलेसम्म मानवीय र भौतिक क्षति भएको जानकारीमा नआएको बताए । उनले प्रहरीका मातहतका निकाय, सशस्त्र प्रहरी, नेपाली सेना सबै सतर्क अवस्थामा रहेको र जनतालाई पनि सतर्क रहन भनिएको जानकारी दिए ।

‘भरतपुर महानगरपालिकाका वडा नं. २६, २७ र २८ मा नारायणीको डुबान र कटान बढी हुने भएकाले प्राथमिकतामा राखेर सचेतना अपनाइएको छ,’ एसपी अधिकारीले भने । गएरातिदेखि विहानसम्म विभिन्न सडकखण्डमा झरेका १० वटाभन्दा बढी पहिरो पन्छाएर सडक खुलाउने काम गरिएको एसपी अधिकारीले जानकारी दिए ।

यस्तै, पूर्वी चितवन हुँदै बग्ने राप्ती नदीमासमेत पानीको सतह बढेको छ । पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेकाले मनहरी, रजैया, लोथर, सौराहा लगायतका क्षेत्र भएर बग्ने राप्ती नदीमा बाढी आएको छ । २०७४ सालमा यही नदीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको थियो ।

सौराहामा पनि सतर्कता

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले निरन्तरको वर्षाले नदीको सतह निकै माथि आएको बताए । उनले निरन्तर पानी परे रातिदेखि खतरा हुन सक्ने बताए । सौराहा डुबानमा पर्नसक्ने खतरालाई मध्यनजर गरी तत्काल उद्धारका लागि हात्ती र बोट तयारी अवस्थामा राखिएको उनले बताए ।

पश्चिम चितवनको माडी क्षेत्रमा निरन्तर परेको पानीले त्यहाँका ठाडा खोलाहरुमा पनि बाढी आएको छ । बाढीका कारण जिल्ला सदरमुकाम भरतपुर आवत–जावत पूर्णरुपमा रोकिएको छ । माडीमा ११ वटा साना ठूला खोला छन् ।

इलाका प्रहरी कार्यालय माडीका निरीक्षक झलक पौडेलले भने, ‘गएरातिदेखि निरन्तर परेको पानीले खोलाको सतह बढ्दै आएको छ । तर बस्तीहरुमा अहिलेसम्म बाढी पसेको छैन ।’

यस्तै, पूर्वी चितवनको ढुंग्रेखोला, कयर, लदरा, च्यात्रा, लोथर, बूढीराप्ती र पम्फा खोलामा पानीको सतह बढेको छ । यी खोलाहरुले कटान गर्न सक्ने भएकाले सचेत हुन भनिएको खैरहनी नगरपालिकाले जनाएको छ ।

कतै बाढीले सडक भत्काएमा वा कटान गरेमा तत्कालको व्यवस्थापनका लागि जाली, ढुंगा र ग्राभेल तयारी अवस्थामा राखिएको खैरहनी नगरपालिकाका प्रेस सल्लाहकार ध्रुवराज खनालले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

अविरल वर्षाका कारण चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानहरुमा स–साना ढुंगा र लेदो खसेको छ ।

घुमाउने लगायतका स्थानमा लेदो खसेर केहीबेर अवरुद्ध बनेको सडक अहिले सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । उनले पहिरो आएर सडक अवरुद्ध भए तत्कालै खुलाउन एक्साभेटरलाई तयारी अवस्थामा राखिएको बताए । मुग्लिनदेखि फिस्लिङसम्मको सडक पनि चालु अवस्थामा नै रहेको उनले जानकारी दिए ।

फिस्लिङमा पनि एक एक्साभेटर राखिएको छ । वर्षायाममा बर्सेनि यस सडकखण्डमा पहिलो खस्ने गरेको छ । गत वर्ष वर्षामा मुग्लिन–फिस्लिङ सडकखण्डमा रहेको पुल भत्काउँदा केही दिन पृथ्वीराजमार्ग अवरुद्ध बनेको थियो ।

प्रशासनको अनुरोध : सतर्क रहनुस्

चितवन प्रशासन कार्यालय चितवनले नदी आसपास र सम्भावित पहिरोको जोखिममा रहेका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

नारायणी, राप्तीलगायत चितवनका नदी किनारमा रहने नागरिकले विशेष सतर्कता अपनाउनुपर्ने प्रशासनको भनाइ छ । प्रशासनले ‘अत्यन्त जरुरी’ सूचना जारी गर्दै सो सर्तकता अपनाउन अनुरोध गरेको हो ।

सूचनामा चितवन लगायत आसपासका जिल्लाहरुमा लगातार पानी परिरहेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन भनिएको छ । बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलन गर्ने लगायतका काम नगर्न प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुवास पण्डित

ट्रेन्डिङ

Advertisment