सिन्धुलीको कमलामाई नगरपालिका–६ पानी ट्यांकीका सन्तोष तामाङ १३ वर्षका छन् । यो उनको स्कुल जाने उमेर हो । तर उनी ३ वर्षदेखि सिन्धुलीमाढीको एउटा ग्यारेजमा गाडी धोइरहेका छन् ।
साथीहरू सुकिला पोशाकमा विद्यालय गएर कापीमा सुनौला अक्षर लेखिरहँदा उनका कलिला हात गाडी पुछ्न व्यस्त हुन्छन् । यो उनको रहर हैन, बाध्यता हो । सानैमा आमाबुबाले साथ छोडिदिए । बाँच्नका लागि खानैपर्छ, खानका लागि त केही गर्नैपर्छ । जीविकोपार्जनका लागि कामको खोजीमा हिँडेका उनले गाडी पुछ्ने काम पाए, त्यही गरे ।
उनलाई पनि स्कुल जान पाए हुन्थ्यो भन्ने लाग्छ । तर विद्यालय जाने वातावरण बनाइदिने कसले ? अभिभावकले टुहुरो बनाइदिए, राज्यले उनीहरूलाई देखेकै छैन । गाउँमै सिंहदरबार भए पनि त्यो दरबारको आँखा उनीजस्तामाथि परेको छैन । कुनै संघ संस्थाको नजरमा पनि उनी परेका छैनन् ।
‘साथीहरू स्कुल गएको देख्छु । म पनि स्कुल जान पाए हुन्थ्यो लाग्छ । पढ्ने रहर भएर के गर्नु ? मैले काम नगरी खान पाउँदिन,’ उनले भने ।
सन्तोषको स्कुल जाने धोको पूरा नभए पनि घर बनाउने अठोट बाँकी छ । ‘बुबा सानैमा बित्नुभयो, आमाले छाडेर जानुभयो । कसैले साहारा दिएनन्, अब त म आँफै काम गरेर बाँच्न सक्छु भन्ने आँट आएको छ । पछि एउटा सानो घर बनाउँछु ,’ उनले आफ्नो योजना सुनाए ।
दिनभर ग्यारेजमा गाडी धोएबापत उनले महिनामा पाउने जम्मा ३ हजार हो । त्यही पैसा जोगाउने गरेका छन् । १० हजार रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ । विरामी हुँदा वा केहि समस्या पर्दा अरूसँग माग्न नपरोस भनेर पैसा जोहो गर्ने गरेको उनी सुनाउछन् । सन्तोषको बाँच्ने आधार बनेको ग्यारेज कोरोना महामारीका कारण बन्द छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सिन्धुली जिल्लामा पनि एक महिनादेखि निषेधाज्ञा छ । ग्यारेज नै बन्द भएपछि उनले रोजीरोटीको बाटो गुमेको गुनासो गरे ।
काम हुँदा एक्लै बस्ने उनी अहिले काकाकाकीको शरणमा छन् । दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने काकाकाकीकोमा पनि निषेधाज्ञाले गर्दा बिहान बेलुका खान धौ–धौ भएको छ । कमलामाई नगरपालिका ५ चिसापानीका अनिष थामीको समस्या पनि उस्तै छ । उनी पनि पढ्ने रहरलाई दबाएर बसेका छन् । आमा बुबा छुट्टिएपछि उनी एक्लो भए । १० वर्षका अनिशको खाने, बस्ने कुनै टुंगो भएन । आफन्तले पनि साथ दिएनन् ।
उनलाई एकै ठाँउमा भेट्नै मुस्किल हुन्छ । बस्ने ठाँउ र काम फेरिरहन्छन् । उमेरले सानो भएपनि घर बनाउने, गाडी धुने, निर्माणका सामाग्री बोक्नेसम्मका काम गरेको अनुभव उनीसँग छ । ‘खानको लागि जे पनि गर्नुपर्ने रहेछ, आफूले सक्ने जति काम गर्छु,’ उनले विवशता सुनाए ।
निशेधाज्ञापछि उनको दैनिकी फेरिएको छ । उनी अहिले अरुका बच्चा हेर्ने काम गर्छन् । बाहिर गाडी धुने, ढुङ्गा बोक्ने जस्ता ज्याला मज्दुरीको काम निषेधाज्ञाले बन्द छ । चिनजानकै एउटा दिदीको घरमा बच्चा हेर्ने काम उनले पाएका छन् । बिहान बेलुकाको छाक टरिरहेको छ ।
सानै उमेरमा आमा गुमाएका कमलामाई नगरपालिका–५ चिसापानीकै १२ वर्षीय सन्तोष थामीको बुवाको अत्तोपत्तो छैन । पढ्ने रहर पूरा गरिदिने कोही छैनन् । निषेधाज्ञाले नियमित काममा रोक लागेपछि चिसापानी कै एक घरमा उनी घरायसी काम गरिदिने गर्दै आएका छन् । ‘भाँडा माझ्ने, बच्चा हेरिदिने गर्छु ,’ उनले भने, ‘काम गरे बापत खान लाउन दिन्छन् ।’
पारीवारिक समस्याले बालबालिका श्रम गर्न बाध्य छन् । परिवार र सरोकारवाला निकायको संरक्षण गर्न नसक्दा कतिपय बालबालिका निकृष्ट श्रम गर्न समेत बाध्य छन् । निषेधाज्ञाले उनीहरूको काम पनि बन्द भएको छ । उनीहरू झनै कष्टकर जीवन बिताइरहेका छन् । बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गदै आएको रिलिफ नेपालले बालश्रम उन्मुलनको लागि विभिन्न कार्यक्रम संचालन गरेको अध्यक्ष दुर्गा पौडेल बताउँछन् ।कमलामाई नगरपालिका क्षेत्रबाट बालश्रम उन्मुलन गर्न प्लान इन्टरनेशनल नेपालको सहयोग तथा रिलिफ नेपाल र सामुहिक जनजागरण विकास कार्यक्रम नै सञ्चालन गर्यो ।
विभिन्न कारणले विद्यालय जानबाट बञ्चित र बीचमै पढाई छाड्न बाध्य बालबालिकालाई अनौपचारिक सिकाई केन्द्र एवं स्रोतकेन्द्रमार्फत उमेर तथा क्षमता अनुरुप विद्यालय भर्ना गराउने, छात्रवृत्ति प्रदान गर्ने, विद्यालय जान नचाहाने बालबालिकालाई सिपमूलक तालिमका लागि सिफारिस गर्ने, सडक बालबालिकालाई घरमा पुनस्र्थापना गर्नेलगायतका काम गरेको दावी पौडेलको छ ।
तर यस्ता कार्यक्रमहरूले सन्तोष, अनिषहरूलाई अझै भेट्न सकेको छैन । घर परिवार र आफन्त नभएका बालबालिकाहरूलाई पुर्नस्थापना गर्न नसकिएको पौडेल बताउँछन् । सिन्धुलीमा श्रम कार्यालय नहुँदा उद्धार गर्न पनि समस्या छ ।
कमलामाई नगरपालिकामा बालश्रम उन्मुलन गर्ने विभिन्न कार्यक्रम संचालन गरेको दावी नगरप्रमुख खड्ग बहादुर खत्रीको पनि छ । आर्थिक अवस्था कमजोर भएका तथा विपन्न वर्गका बालबालिकालाई वडाको सिफारिसमा कलम, कापी, झोलालगायतका शैक्षिक सामाग्री वितरण गरेको, श्रमिक बालबालिकालाई शिक्षाबाट बञ्चित नगराउने उद्देश्यले आवासीय विद्यालयको योजना अघि सारेको र नगरपालिकामा श्रमिक बालबालिका कति छन् ? भन्ने सर्वेक्षणको तयारी भईरहेको उनी सुनाउँछन् ।
बालश्रम मुक्त जिल्ला बनाउन सरकारी तथा गैरसरकारी संघसस्था, सरोकारवाला निकायले काम गरेको दावी गरिरहेपनि सन्तोष र अनिषहरूको अवस्थाले अझै गहिरो मेहनत आवश्यक देखिन्छ । औपचारिक कार्यक्रमहरूमा गरिएको लगानी बालुवामा पानी त भईरहेको छैन ?
साविक जिल्ला बालकल्याण समिति सिन्धुलीले २०६८ सालमा गरेको सर्वेक्षण अनुसार कमलामाई नगरपालिकामा मात्रै २५४ जना श्रमिक बालबालिका छन । जसमध्ये ५४ जना बालबालिका निकृष्ट प्रकारको श्रममा आबद्ध । यसपछि कुनै पनि निकायले यसबारे अध्ययन गरेको तथ्याङ्क भेटिँदैन ।
बालश्रम निषेध तथा नियमन गर्ने ऐन २०५६ को परिच्छेद ५ दण्ड सजाय र पुनरावेदन सम्बन्धि व्यवस्था छ । जसमा बालबालिकालाई लगाएको श्रमको प्रकृति अनुसार कम्तीमा १५ दिनदेखि १ वर्ष कैद वा १ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । तर बाल श्रममा लगाउने कतिलाई कारबाही भयो त ? बालबालिकाप्रति तीनै तहका सरकार र अन्य सरोकारवाला निकाय किन गम्भिर हुन सकेका छैनन् ?
चिनियाँ फिलोसफर कन्फ्युसियसले भनेका थिए– ‘एक वर्षका लागि योजना बनाउँदै हुनुहुन्छ भने धान लगाउनुस, १० वर्षका लागि योजना बनाउँदै हुनुहुन्छ भने रुख रोप्नुस र १ सय वर्षका लागि योजना बनाउँदै हुनुहुन्छ भने बालबालिकालाई पढाउनुस अर्थात बालबालिकामा लगानी गर्नुस् ।’
के हाम्रा सरकार र सरोकारवाला संघ संस्थाले यसतर्फ गम्भिर भएर काम गरिरहेका छन् त ? बालबालिकाको भविष्यसँगै त देशको भविष्य जोडिएको छैन र ?
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4