Comments Add Comment

सुदूरपश्चिममा कोरोना संक्रमण : वैशाखभन्दा जेठमा घट्यो

६ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा जेठ महिनाभरी ५५ हजार जनामा परीक्षण गर्दा १४ हजार ४६५ जनामा कोरोना संक्रमण देखिएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, राजपुर डोटीका अनुसार जेठमा पीसीआर परीक्षण विधिबाट ३० हजार ४६४ जनामा परीक्षण गरिएको छ । जसमध्ये ११ हजार २८ जनामा संक्रमण भएको पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको संख्याको ३६.२० प्रतिशत हो । यस तथ्याङ्कले वैशाखमा भन्दा जेठमा कोरोना संक्रमण दर झण्डै १० प्रतिशतले घटेको देखिएको छ ।

वैशाख महिनामा पीसीआर विधिबाट २० हजार ६९१ जनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये नौ हजार पाँच सय ५६ (४६.१८ प्रतिशत) मा संक्रमण देखिएको थियो ।

यस्तै जेठ महिनामा एण्टिजेन बिधिबाट २४ हजार पाँच सय ३६ जनाको परीक्षण गरिएकोमा तीन हजार चार सय ३७ जनामा संक्रमण देखिएको छ । यो संख्या परीक्षण गरिएको संख्याको १४ प्रतिशत हो ।

वैशाख महिनामा एण्टिजेन विधिबाट २० हजार चार सय ५६ परीक्षण गरिएको थियो । जसमध्ये तीन हजार नौ सय ८२ (१९.४६ प्रतिशत) मा संक्रमण देखिएको थियो । यस आधारमा एण्टिजेन बिधिबाट परीक्षण गर्दा देखिने संक्रमण दरमा पनि कमी आएको देखिन्छ ।

वैशाखमा ४१ हजार एक सय ४७ जना संकास्पद व्यक्तिहरुमा कोरोना परीक्षण गरिएकोमा १३ हजार पाँच सय ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा जेठ महिनासम्म दुई लाख ४८ हजार तीन सय १४ जनामा कोरोना परीक्षण गरिएकोमा ४२ हजार नौ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर बिधिबाट परीक्षण गरिएका एक लाख ८९ हजार सात सय ३० जनामध्ये ३४ हजार आठ सय २४ जनमा संक्रमण पुष्टि भएको छ ।

यस्तै ५८ हजार पाँच सय ८४ जनामा एण्टिजेन परीक्षण गर्दा आठ हजार ७७ जनामा संक्रमण देखिएको निर्देशनालयद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मृत्यु हुनेको संख्या पनि घट्यो

निर्देशनालयको तथ्याङ्कअनुसार वैशाखसम्म सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३१७ थियो । वैशाख महिनामा २५९ जनाको कोरोना संक्रमणका कारण निधन भएको थिए ।

जेठ महिनामा भने मृत्यु हुनेको संख्यामा केही कमी आएको छ । जेठ महिनामा २४२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छ ।

जेठमा मृत्यु भएकामध्ये पीसीआर विधिबाट संक्रमण पुष्टि भएका १५२ र एण्टिजेन विधिबाट संक्रमण पुष्टि भएका ९० जना छन् । यो संख्या जेठ महिनामा संक्रमण पुष्टि भएका १४ हजार चार सय ६५ को १.६७ प्रतिशत हो ।

वैशाख महिनामा मृत्यु प्रतिशत १.९१ थियो । वैशाखमा संक्रमण पुष्टि भएका १३ हजार पाँच सय ३८ जना संक्रमण पुष्टि भएको थियो भने दुई सय ५९ को मृत्यु भएको थियो ।

जेठमा मृत्यु भएका दुई सय ४२ संगै सुदूरपश्चिम प्रदेशमा कोरोना बिरुद्धको लडाईमा ज्यान गुमाउनेहरुको संख्या पाँच सय ५९ पुगेको छ । जसमा पिसिआर विधिबाट संक्रमण पुष्टि भएका तीन सय २० र एण्टिजेनबाट संक्रमण पुष्टि भएका दुई सय ३९ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment