Comments Add Comment

पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा बाढीको वितण्डा

२ असार, काठमाडौं । पहिरोले मेलम्ची नदी थुनिएको र उक्त बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुवाउने गरी बाढी आएको पाइएको छ । मंगलबार राति एक्कासी मेलम्ची नदीमा बाढी आउँदा मेलम्ची बजारको तल्लो क्षेत्र डुवानमा परेको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मेलम्चीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका २० जना हराएका छन् । शव फेला परेका एक जनाको सनाखत हुन सकेको छैन । सम्पर्कविहीन भएका २० जनामध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक छन् ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले ७४ जनालाई सकुशल उद्धार गरेको छ । एक चिनियाँ नागरिकसहित ५ जना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

बाढीले मेलम्ची नगरपालिकाका ६०० जना, हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीय वासिन्दा प्रभावित भएका छन् । हेलम्बु गाउँपालिकाका ३ वटा र मेलम्चीमा एउटा झोलुंगे पुल, हेलम्बु गाउँपालिकामा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बाढीले बगाएको छ ।

यो पनि पढ्नुहोस बाढी र डुवानपछिको मेलम्ची बजार

बुधबार हेलिकप्टरबाट गरेको निरीक्षणका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने लार्के भन्ने ठाउँमा ठूलो पहिरो गएको पाइएको हो ।

उक्त पहिरोले मेलम्ची नदी थुनिएर ठूलो दह बनेको फुटेर बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थुनिएको मेलम्ची नदी एक्कासी पहिरोको माटोसहित बग्दा मेलम्ची बजार तहसनहस भएको हो ।

मेलम्ची बजार डुवानमा परेपछि स्थानीय वासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment