Comments Add Comment

सिन्धुपाल्चोकमा ज्यान गुमाउने दुवैजना चिनियाँ नागरिक

३ असार, काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने दुवै जना चिनियाँ नागरिक भएको खुलेको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गोंगको शव इन्द्रवती नदी र यु ची झुको सिन्धुलीमा भेटिएको अनलाइनखबरलाई बताए । उनका अनुसार दुवै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।

‘उहाँहरुबारे थप विवरण खोज्ने काम भइरहेको छ’ पोखरेलले अनलाइनखबरसँग भने । घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।

पानीको बहाव घट्यो

बिहीबार बिहान मेलम्चीमा पानीको बहाव घटेको देखिएको प्रजिअ पोखरेलले बताए । उनका अनुसार बुधबार साँझ पानीको सतहत बढेको थियो । तर हाल पानीको वहाव घटेर डुबेका घरहरु पनि देखिन थालेको उनले बताए ।

घटनामा प्रभावित बनेकाहरुलाई टेन्टमा राखिएको छ । मेलम्चीका ६ सय र हेलम्बुका ३ सय जना सुरक्षित स्थानमा छन् । प्रशासनले खोजी, उद्दार तथा राहतका लागि दुई वटा कमाण्ड पोस्ट बनाएर काम गरिरहेको छ ।

एउटा पोष्ट प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा मेलम्चीमा छ, जसले अपरेशनल काम गरिरहेको छ । चौतारामा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको नेतृत्वमा भएको अर्को कमाण्ड पोष्टले प्रत्येक पालिका र वडासँग सम्पर्क गरेर विवरण संकलन गरिरहेको छ ।

पानीको वहाव कम भएसँगै प्रभावित क्षेत्रमा राहत लिएर जाने पनि बढ्न थालेका छन् । तर आफू खुशी राहत बाँड्दा वास्तविक पीडितले नपाउने समस्या देखिन सक्ने पोखरेलले बताए । ‘कसैले पाएको पायै गर्ने कोही भोकै हुने स्थिति आउन सक्छ’ उनले भने, ‘त्यसैले जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र राहत बाँड्नु हुन अनुरोध छ ।’

राहत आवश्यकता भएकाहरुको विवरण समितिले राखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment