Comments Add Comment

बुटवलको आम्दा नेपाल अस्पतालमा कोभिड वार्ड विस्तार गरिंदै

३ असार, बुटवल । कोरोना महामारीलाई लक्षित गर्दै बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा कोभिड संक्रमितको उपचार गर्ने गरी पूर्वतयारी थालिएको छ ।

बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पतालमा  तत्कालका लागि कोभिड विशेष सेवा थप गर्न लागिएको हो ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने प्रक्षेपण भइरहेकाले अस्पतालमा  बालबालिका र प्रसूतिका बेड थप गर्ने, उपकरण बढाउने र जनशक्तिको समेत आवश्यक प्रबन्ध मिलाउन पूर्वतयारी थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले बताए ।

हाल अस्पतालमा कोभिड विशेषका पाँचवटा आईसीयूसहितका बेड सञ्चालनमा छन् । सेवालाई विस्तार गर्दै कोभिड प्रभावित बालबालिका र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधासम्पन्न उपचार केन्द्र बनाउन लागिएको डा. बस्यालले बताए । ‘अस्तालमा कोभिड विशेष कक्ष निर्माण गरेर आवश्यक बेड र उपकरण थप गर्न लागिएको छ,’ उनले भने ।

बुटवल उपमहानगरपालिकाबाट ५० लाख रुपैयाँ बराबरको स्रोत सुनिश्चित भएको र ३० लाख प्राप्त भइसकेको उनले बताए । अस्पतालको सञ्चालक सदस्य रहेको बुटवल उद्योग वाणिज्य संघले पनि हालै मात्र अस्पताललाई ५ वटा आईसीयू बेड, ५ वटा आईसीयू मोनिटर र एउटा भेन्टिलेटर सहयोग गरेको थियो ।

अस्पतालमा हाल एक सय ५० बेड छन् । अस्पताललाई विस्तार गर्दै बाल र प्रसूतिको विशिष्टिकृत सिटी अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment