Comments Add Comment

अमेजन सीईओ जेफ बेजोसको अन्तरिक्ष यात्रा कति सुरक्षित ? यस्तो छ नालीबेली

संसारकै सबैभन्दा धनी मान्छे अमेजन सीईओ जेफ बेजोसले आफूले चाहेको जे पनि गर्न सक्दछन् । उनले निजी जहाजमा पूरै संसारको परिक्रमा गर्न सक्छन् अनि विशाल सामुद्रिक जहाजमा सधैँभरी समुद्रमै यात्रा गरिरहन पनि सक्दछन् ।

अमेरिकाको सबैभन्दा ठूलो फुटबल लिगको रुपमा रहेको नेशनल फुटबल लिगका पूरै टिम खरीद गर्ने उनको क्षमता छ । बेजोसले आफ्नो परिवार र साथीहरुका लागि कुनै प्रायद्धिप खरीद गर्न पनि सक्दछन् । प्रतिगोटा २९ लाख डलर पर्ने ६५ हजार वटा बुगाट्टी चिरोन कार एकैपटकमा किनिदिन सक्दछन् । तर विडम्बना अहिलेसम्म उक्त मोडेलका कार केवल ५ सयवटा मात्र बनेका छन् । यी सबै कुराले के बताउँदछ भने संसारका नम्बर वान धनाढ्य जेफ बेजासँग अनन्त विकल्प छन् । यतिधेरै सुखसुविधा र विकल्प हुँदाहुँदै पनि उनी आफ्नो जीवनलाई नै जोखिममा राखेर ११ मिनेटको अन्तरिक्ष यात्रामा निस्किँदैछन् ।

आखिर उनको त्यो निर्णय कत्तिको जोखिमपूर्ण छ त ?

यसको जवाफ तपाईंले अपेक्षा गरेजस्तो हुँदैन । अन्तरिक्ष यात्रा भनेको ऐतिहासिकरुपमै खतराले भरिपूर्ण कार्य हो । यद्यपि बेजोसको बाल्यकालदेखिको सपनाको रुपमा रहेको र उनले सबैभन्दा उत्कृष्ट एडभेन्चरको रुपमा लिएको उक्त अन्तरिक्षयात्रा त्यतिधेरै जोखिमपूर्ण नहुन सक्दछ । किनकि उनको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले पछिल्लो दशकमा पृथ्वीको तल्लो कक्षीय क्षेत्रमा पटक-पटक सफलतापूर्वक आफ्नो न्यु शेफर्ड रकेट पठाइसकेको छ र उनी श्रृंखलाबद्ध परीक्षण उडानको सफलतापछि नै उक्त रकेटमा चढेर अन्तरिक्षमा जाने निर्णय गरेका हुन् ।

जेफ बेजोस, उनका भाइ मार्क तथा अनलाइनमार्फत् करोडौँ डलरमा टिकट खरीद गरेका अर्का एकजना व्यक्ति न्यु शेफर्ड रकेटको मानवयुक्त उडानको पहिलो यात्रीहरु बन्दैछन् । पूर्णरुपमा स्वचालित उक्त सबअर्बिटल रकेट तथा अन्तरिक्षयान प्रणालीले यात्रीहरुलाई अन्तरिक्षको छोटो आनन्ददायी यात्रा गराउने गरी डिजाइन गरिएको र यो यात्रा पूर्णरुपमा जोखिमविहीन भने हुनेछैन ।

आखिर बेजोसको अन्तरिक्ष उडान कस्तो हुनेछ अनि बाह्य अन्तरिक्षमा जाने मानिसहरुले आफ्नो जीवन कसरी हत्केलामा राखेका हुन्छन् त ?

अन्तरिक्ष उडान कस्तो हुन्छ ?

अन्तरिक्ष उडान भन्ने वित्तिकै अन्तरिक्ष यात्रीहरुले कम्तिमा केही दिनको लागि अन्तरिक्षमै तैरिने तथा पृथ्वीको कक्षमा परिक्रमा गर्ने कुरा हामीले कल्पना गर्दछौँ ।

तर बेजोसका दाजुभाई र अर्का एक यात्रुले भने त्यो गर्ने छैनन् ।

उनीहरु सिधै माथि अन्तरिक्षसम्म जानेछन् र तल झरिहाल्नेछन् । र, निकै छोटो समयमा अर्थात् ११ मिनेटमा यो यात्रा पूरा हुनेछ ।
वास्तमा जेफ बेजोसको यो अन्तरिक्ष यात्रा सब अर्बिटल फ्लाइट हो । जुन पूर्ण अन्तरिक्ष उडान अर्थात् अर्बिटल फ्लाइटभन्दा फरक हुन्छ । ब्लु ओरिजिनको न्यू शेफर्ड रेकट उडान निकै छोटो हुनेछ, केवल उडान र अवतरण । यसक्रममा बेजोसको टोली पृथ्वीभन्दा ६२ माइलमाथि पुग्नेछ जसलाई बाह्य अन्तरिक्षको किनारा मानिन्छ।

वास्तवमा अर्बिटल रकेटहरु निकै तीव्र गति, कम्तिमा पनि १७ हजार माइल प्रतिघण्टाका साथ उड्दछन्, जसलाई कक्षीय गति पनि भनिन्छ । यसले यानलाई पृथ्वीको गुरुत्वाकर्षलाई निस्तेज पारेर कक्षमा घुमिरहन सक्ने बनाउँछ ।

तर सबअर्बिटल उडानका रकेटमा भने कम ऊर्जा र कम गति भए पुग्दछ । अर्थात् रकेट दहन हुनका लागि कम समय चाहिन्छ, यानको बाह्य तापक्रम पनि कम नै हुन्छ, कम बल तथा चाप हुने भएकाले कुनै अप्रिय दुर्घटनाको जोखिम पनि कम हुने विश्वास गरिन्छ ।

न्यु शेफर्ड रकेटको गति ध्वनीको गतिभन्दा तेब्बर अर्थात् २३०० माइल प्रतिघण्टा हुनेछ । रकेटको अधिकांश इन्धन प्रयोग भैसक्दासम्म यो सिधै माथि उडिरहनेछ । सर्वाधिक उचाइमा यात्रुबाहक यान अर्थात् क्याप्सुल रकेटबाट छुटि्टनेछ । केही माथि पुगेसँगै उक्त क्याप्सुल अन्तरिक्षमा तैरिनेछ र केही क्षणका लागि यात्रुहरुले तौलविहीनताको अनुभव गर्न पाउनेछन् ।

त्यस लगत्तै उक्त क्याप्सुल तल र्झन थाल्नेछ र त्यस क्रममा भीमकाय प्यारासुट क्याप्सुलबाट निस्किनेछ। जमीनमा झर्ने क्रममा क्याप्सुलको न्यूनतम गति २० माइल प्रतिघण्टासम्म हुनेछ।

उता क्याप्सुलबाट छुटि्टएको रकेटको इन्जिन पनि कम्प्युटर प्रणालीबाट स्वचालितरुपमा पुनः सुचारु हुनेछ र सिधै पृथ्वीमा अवतरण गर्नेछ ।

खतरा कति धेरै ?

ब्लु ओरिजिनको न्यू शेफर्ड क्याप्सुल पूर्णरुपमा स्वचालित हुन्छ अर्थात् उडान अवतरणमा कुनै पाइलटको आवश्यकता पर्दैन । हालसम्मका १५ वटा परीक्षण उडानका क्रममा यो एकपटक पनि विस्फोट वा दुर्घटनामा परेको छैन ।

बेजोसको अन्तरिक्ष उडान पनि आफैँले अन्य महत्वाकांक्षी अन्तरिक्ष यात्राका प्रयासहरुभन्दा कम खतरापूर्ण रहेको छ । तथापि यस अन्तरिक्षयात्रामा खतरा पूर्णरुपमा शून्य छ भन्नचाहिँ सकिँदैन ।

सब अर्बिटल उडानहरु अवतरणको क्रममा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा अर्बिटल उडानमा जस्तो अति उच्च गति तथा जटिल प्रक्रियाको आवश्यकता पर्दैन, जसका कारण जोखिम कम हुन्छ । अर्बिटल फ्लाइटको यान वायुमण्डलमा पुनः प्रवेश गर्दा यानको तापक्रम ३५ हजार डिग्री फरेनहाइटसम्म पुग्दछ र यानको तीव्र गतिका कारण यात्रुहरुले अति शक्तिशाली झट्का महसुस गर्दछन् ।

जतिधेरै गति र उचाइ भयो जोखिम उति नै बढी हुन्छ अनि एउटा सानो त्रुटिको पनि भयानक परिणाम आउन सक्दछ।

पृथ्वीको वायुमण्डलको ५० हजार फिटभन्दा माथि स्पेस शूटविना लामो समय बाँच्न सकिँदैन । जेफ बेजोसचाहिँ पृथ्वीभन्दा ३ लाख ५० हजार फिट माथि पुग्दैछन् । तर उनले यात्रा गर्ने क्याप्सुलमा प्रेसर रहने र अक्सिजन मास्कसमेत हुने भएको हुँदा स्पेस शुटको आवश्यकता पर्नेछैन । त्यस्तै रकेटमा कुनै गडबडी आएका बखत जुनसुकै बेला पनि सो क्याप्सुल रकेटबाट छुटि्टने प्रणाली पनि रहेको छ । क्याप्सुलका केही प्यारासुटले काम नगरेको खण्डमा सुरक्षित अवतरणका लागि ब्याकअप सुरक्षा फिचरहरु पनि राखिएको छ ।

तर न्यू शेफर्डमा गडबडी आएमा वा आकाशमा रहेको बेलामा काम गर्न छाडेमा पूर्णरुपमा सुरक्षाको प्रत्याभूति गराउनचाहिँ सकिनेछैन ।

हुनत सब अर्बिटल उडानहरु अर्बिटलको तुलनामा कम जोखिमपूर्ण छन् । तर दुर्घटना भयो भने त्यो घातक नै हुन्छ ।

सन् २०१४ मा भर्जिन ग्यालाक्टिक कम्पनीको सबअर्बिटल यान अवतरणका क्रममा प्राविधिक गडबडीले गर्दा दुर्घटनाग्रस्त भएको थियो र त्यसक्रममा एकजना पाइलटको मृत्यु भएको थियो ।

स्मरण रहोस् भर्जिन ग्यालाक्टिक कम्पनी ब्लु ओरिजिनको प्रतिस्पर्धी हो र त्यसयता उसले आफ्ना नयाँ स्पेससिप टू नामक अन्तरिक्ष जहाजको ३ पटक सफल परीक्षण उडान गरिसकेको छ ।

तथापि ब्लु ओरिजिनले भने परीक्षण उडानका क्रममा अहिलेसम्म यस्तो कुनै दुर्घटनाको सामना गर्नु परेको छैन ।

उता बेजोस भने जोखिम मोल्न तयार छन् । जोखिम मोल्नु अर्थपूर्ण रहेको उनले संकेत गरेका छन् ।

सीएनएनबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment