Comments Add Comment

नेदरल्याण्ड्स युरोकपको अन्तिम १६ मा प्रवेश

४ असार, काठमाडौं । नेदरल्याण्ड्स युरोकप २०२० को अन्तिम १६ मा प्रवेश गर्ने तेस्रो टिम बनेको छ । समूह सी अन्तर्गत बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० ले हराउँदै लगातार दोस्रो जित हात पारेको डच टोली नकआउट राउण्डमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान योहान क्रप एरेनामा भएको खेलमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए र डेन्जेल डमफ्राइसले गोल गरे ।

खेलको ११औं मिनेटमा डिपाएले पेनाल्टीमा पहिलो गोल गरेका थिए । अष्ट्रियाका कप्तान डेभिलअलावाले पेनाल्टी एरियामा डमफ्राइसलाई फाउल गरेपछि नेदरल्याण्ड्सले पाएको पेनाल्टीमा डिपाएले गोल गरे ।

दोस्रो हाफमा पनि नेदरल्याण्ड्सले एक गोल गर्‍यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डोनयल मालेनको पासमा डमफ्राइजले ६७औं मिनेटमा गोल गरेका थिए ।

लगातार दोस्रो जितपछि नेदरल्यण्ड्सले समूह सी मा ६ अंक जोडेको छ र एक खेल अगावै नकआउटमा स्थान बनाएको छ । नेदरल्याण्ड्सले एक खेल खेल्न बाँकी भए पनि समूह सी को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले पराजित गरेको थियो । नेदरल्याण्ड्स सन् २००८ पछि पहिलो पटक नकआउट चरणमा पुगेको हो । सन् १९८८ को च्याम्पियन नेदरल्याण्ड्स २००० र २००४ मा सेमिफाइनलसम्म पुगेको थियो ।

उता पहिलो खेलमा नर्थ मेसेडोनियालाई पराजित गरेको अष्ट्रियाको यो पहिलो हार हो । अब समूहको अन्तिम खेलमा नेदरल्याण्ड्सले नर्थ मेसेडोनिया र युक्रेनले अष्ट्रियासँग खेल्नेछ । युक्रेन र अष्ट्रियाबीचको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ । यदि खेल बराबरी भएमा गोलअन्तर हेरिनेछ ।

६ समूहको शीर्ष दुई टोलीसँगै तेस्रो हुनेमध्ये उत्कृष्ट चार टिम पनि अन्तिम १६ मा प्रवेश गर्ने भएकोले समूहमा तेस्रो हुने टिमको पनि सम्भावना कायम रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment