Comments Add Comment

युरोकपमा २५ वर्षपछि इंग्ल्याण्ड र स्कटल्याण्ड भिड्दै

४ असार, काठमाडौं । इंग्ल्याण्ड र स्कटल्याण्ड विश्व फुटबलमै सबैभन्दा पुरानो प्रतिद्वन्द्वी हुन् । अहिले भइरहेको युरोकप २०२० को समूह डी मा रहेका यी दुई टिम वेम्लवी मैदानमा उत्रँदा त्यसले इतिहासलाई सम्झाउने छ ।

युरोकपमा यी दुई टोली २५ वर्षपछि भिड्दैछन् । सन् १९९६ को युरोकपमा इंग्ल्याण्डले स्कटल्याण्डलाई २-० ले पराजित गरेको थियो । त्यसपछि स्कटल्याण्ड पहिलो पटक युरोकप खेलिरहेको छ । त्यो बेला वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डका अहिलेका प्रशिक्षक गारेथ साउथगेटले स्कटल्याण्डविरुद्ध खेलेका थिए ।

उक्त खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । खेल हेर्न बढीमा २२ हजार पाँच सय दर्शक रंगशालामा उपस्थित हुनेछन् ।

रहिम स्टर्लिङको एक गोलको मद्दतले पहिलो खेलमा क्रोएसियालाई हराएको इंग्ल्याण्डले स्कटल्याण्डलाई पराजित गरेमा नकआउट राउण्डमा स्थान पक्का गर्नेछ । उता स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २-० ले पराजित भएको थियो । युरोकपको अघिल्लो चरणमा जान स्कटल्याण्डले इंग्ल्याण्डलाई स्तब्ध पार्नुपर्नेछ ।

यी दुई टोली पछिल्लो पटक २०१८ को विश्वकप छनोटमा खेल्दा इंग्ल्याण्ड ३-० ले विजयी भएको थियो ।

इंग्ल्याण्ड र स्कटल्याण्ड एकआपसमा प्रतिस्पर्धात्मक खेलमा १०० औं पटक र समग्रमा ११५ औं पटक खेल्न लागेका हुन् ।

इंग्लिस प्रशिक्षक साउथगेटले दुवै टिमको समर्थक र खेलप्रेमीका लागि यो विशेष खेल हुने बताएका छन । यस्तै स्कटल्याण्डका प्रशिक्षक स्टिभ क्लार्कले यो ऐतिहासिक खेल मानेका छन् ।

वेम्बलीमा यो खेल हुनुअघि समूह डी मै रहेका क्रोएसिया र चेक रिपब्लिकबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । यो खेल स्कटल्याण्डको घरेलु मैदान हाम्पडेन पार्कमा हुनेछ ।

यसअघिको खेलमा क्रोएसिया इंग्ल्याण्डसँग पराजित हुँदा चेकले स्कटल्याण्डलाई हराएको थियो । क्रोएसियालाई पराजित गर्न सके चेक रिपब्लिक नकआउट चरणमा पुग्नेछ । क्रोएसियालाई भने नकआउटको सम्भावना कायम राख्न यो खेल जित्नुपर्ने दबाब छ ।

पाँच वर्षअघि फ्रान्समा भएको युरोकप पनि यी दुई टोली समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल २-२ को बराबरीमा सकिएको थियो ।

यस्तै समूह ई अन्तर्गत स्लोभाकिया र स्वीडेनबीचको खेल पनि आज हुँदैछ । खेल रुसको सेन्टपिटर्सवर्ग स्टेडियममा हुनेछ ।

स्लोभाकियाले यसअघि पोल्याण्डलाई हराएको थियो भने स्वीडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्वीडेनलाई हराउन सके स्लोभाकिया लगातार दुई जितसहित नकआउट चरणमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment