
८ असार, काठमाडौं । काठमाडौंको नयाँ बसपार्क तथा माछापोखरीमा विगत तीन सातादेखि निःशुल्क खाना वितरण गरिरहेको ‘बीपी स्टडी युथ सर्कल’ले अभियान समापनको घोषणा गरेको छ । अभियानको अगुवाइ कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले गरेका थिए भने ऋषि कोइराला, सुमन गिरी, सुवास कट्टेललगायत युवा नेताहरू स्वयंसेवकका रुपमा खटिएका थिए ।
अभियानअन्तर्गत सोमबारसम्म बिहान र साँझ गरी नौ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क खाना वितरण गरिएको थियो । सोमबार बिहान गरिएको खाना वितरण कार्यक्रममा गायक युवराज चौलागाईंको हातबाट खाना वितरण गरिएको थियो ।
यस्तै समापनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, बीपी युथ सर्कलका सल्लाहकार भुपेन्द्रजंग शाही, बीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरालालगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा संस्थाले मेलम्ची बाढी पीडितका लागिसमेत राहत कार्यक्रम वितरण गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया 4