Comments Add Comment

प्रकृतिलाई चाहिनेभन्दा बढी बिथोलिरहेका छौं कि भन्ने कुरा मनन गर्न हमालको सुझाव

नायक राजेश हमालले सिन्धुपाल्चोक, मनाङ लगायत जिल्लाका बाढी प्रभावितलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । गत साता परेको वर्षाका कारण बाढी पहिरो आउँदा सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला बढी प्रभावित छन् । बाढीपहिरोका कारण त्यहाँका धेरै घरपरिवार प्रभावित भएका छन् ।

उनीहरुको लाखौं धनजनको क्षति भएको छ । उनीहरुलाई गास र बासको समस्या भएको छ । यस्तो अवस्थामा पीडितहरुलाई सबैले सहयोग गर्नुपर्ने राजेशले बताएका हुन् । मंगलबार फेसबुकमा शेयर भिडियो सन्देशमा हमालले भनेका छन्–‘पीडितहरुलाई हामी सबैले सहयोग गर्नुपर्छ । हामी नेपाली दाजुभाई, दिदीबहिनी, सरकार, देश–विदेशमा भएका नेपालीहरुले हातेमालो गरेर जो व्यक्तिहरु पीडित हुनुहुन्छ उहाँहरुको घाउमा मल्हम लगाउने वा उहाँहरुको जीवनलाई केही हदसम्म सहज बनाउने कोशिस हामी सबैबाट हुनुपर्छ ।’

उनले दैविप्रकोप प्रभावितलाई दीर्घकालिन व्यवस्थापनका लागि पनि सहयोग गर्नुपर्ने आवश्यकता हुनसक्ने बताउँदै त्यसका लागि पनि सबैले ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् । ‘हामी सबैले हातेमालो गर्यौ भने पीडामा परेका दाजुभाई–दिदीबहिनीहरुलाई उकास्न सक्छौं’ हमालले भने ।

उनले दैविप्रकोपका कारण गएको बाढीपहिरो अत्यन्तै दुःखदायी घटना भएको बताउँदै यस्ता घट्नाहरु घट्नुमा हाम्रो पनि भूमिका छ कि भनेर मनन् पनि गर्नुपर्ने बताएका छन् ।

‘प्रकृति, वातावरणको खिलाप त गरिरहेका छैनौं । त्यसको मर्यादामा आँच आउने किसिमले हामी हाम्रो जीवनशैली, संरचनाहरु त बनाईरहेका छैनौं ? त्यसमा हामीले ध्यान दिनुपर्ने हुन्छ’ उनी भन्छन्, ‘जबसम्म प्रकृतिलाई हामीले सम्मान गर्दैनौं, प्रकृतिले हाम्रो सम्मान कहिल्यैपनि गर्दैन् । त्यो भन्दैमा दैविप्रकोप आउँदै नआउने भन्ने होइन् । तर, दैविप्रकोप आउँछ र यसले यस्तो क्षति गर्छ भन्नेमा होसियार हुनुपर्ने हुन्छ । त्यो होसियारीता हामीले आफ्नै व्यवहारबाट देखाउनुपर्ने हुन्छ ।’

उनले वातावरणलाई प्रकृतिलाई चाहिनेभन्दा बढी बिथोलिरहेका छौं कि भन्ने कुरा सबैले मनन गर्नुपर्ने बताएका छन् । हमालले बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट सबैले पाठ पनि सिक्नुपर्ने बताउँछन् ।

‘वातावरणको संरक्षण गरौं, प्रकृतिको सम्मान गरौं । सँगसँगै आफ्नो जीवनशैली, कार्यहरु प्रकृतिलाई नबिथोल्ने किसिमले संचालन गरौं’ उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment