Comments Add Comment

पहुँचमार्ग तारे होटेल आफैंले बनाए ७५ प्रतिशत शोधभर्ना पाइने

७ असार, काठमाडौं । तारे होटेल बनाउने लगानीकर्ताले मूख्य सडक सञ्जालबाट आफ्नो होटेल प्रतिष्ठानसम्म पुग्ने पहुँचमार्ग र प्रसारण लाइन निर्माण आफैंले गरेमा सरकारले शोधभर्ना दिने भएको छ ।

पहुँचमार्ग बनाउन सरकारले ढिलासुस्ती गर्ने भन्दै निजी क्षेत्रका व्यवसायीले लामो समयदेखि सोधभर्नाको प्रावधान ल्याउन माग गरिरहेका थिए । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सरकारले लगानीकर्तालाई लक्षित गरि यस्तो नीति ल्याएको हो ।

तारे होटेलसहित सिमेन्ट र फलाम उद्योगका लागि आवश्यक पहुँचमार्ग र प्रशारण लाइनमा समेत सोही नीति लागू हुने भएको छ ।

सन् २०२० मा सरकारले वाषिर्क २० लाख पर्यटक भित्राउने तक्ष्य तय गरी भ्रमण वर्ष घोषणा गरेको थियो । तर, सन् २०१९ को अन्तिमबाटै कोरोना महामारीले विश्वव्यापी रुप लिन थालेपछि पर्यटक आगमन प्रभावित भयो ।

यसले होटेलमा आइरहेको लगानी समेत प्रभावित भएको छ । होटेल संघ नेपाल (हान)का अनुसार उद्यमीले नेपालमा अहिले पनि पर्यटनको विकल्प भने देखेका छैनन् ।

होटेल संघ नेपाल -हान)की अध्यक्ष सिर्जना राणाका अनुसार संकटको समयमा निकै धैर्य गरि बसेका व्यवसायी पुनः सहज वातावरण बन्छ भन्ने आशमा छन् ।

उनका अनुसार व्यवसायीले चालु आवमा मौदि्रक नीतिले दिएका सहुलियतको निरन्तरता खोजेका छन् । कोरोनाका कारण परिस्थितिमा त्यति ठूलो फरक नआएका कारण सहुलियतले निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

निजी क्षेत्रलाई जग्गा दिइने

सरकारले चुरे र महाभारत श्रृङ्खला क्षेत्रका सम्भाब्य स्थानमा होटेल, रिर्सोट, मोटलजस्ता संरचना बनाउन निजी क्षेत्रलाई आकषिर्त गर्ने नीति लिने भएको छ । त्यसका लागि चुरे र महाभारत ऋंखलामा शितल आवास बनाउने बजेटमा उल्लेख छ ।

सरकारले तराईका घना शहरभन्दा केही किलोमिटरको दूरीमा अवस्थित आकर्षक पर्यटकीय गन्तब्यलाई प्रवर्द्धन गरि ती भेगमा पर्यटक आकषिर्त गर्न सकिने बताएको छ ।

फेवाताल वरिपरी साइकल सर्किट

आगामी वर्ष पोखराको फेवाताललाई साइकल सर्किटले घेर्ने गरी योजना बनाइएको छ । फेवाताल वरिपरी वातावरणमैत्री साइकल सर्किट निर्माण गरिने भएको हो ।

काठमाडौं उपत्यका नजिकका सम्भावना बोकेका स्थानमा पदयात्रा मार्ग, हाइकिङ डेस्टिनेशन तथा साइक्लिङ ट्रेल बनाउन समेत सरकारले बजेट राखेको छ । यो वर्ष ग्रेट हिमालय ट्रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसक्ने योजना सरकारको छ ।

शे-फोक्सुन्डो ताललाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नेदेखि रारा, खप्तडसहितका गन्तब्यको विकास गर्ने सरकारको घोषणा छ । विगतदेखि नै बजेट छुट्याइएको इलामको सन्दकपुर, धनुषाधाम, इन्द्रसरोवर, पञ्चासे, निग्लिहवा, कुपिण्डे दह र भादागाउँमा आगामी वर्षसमेत बजेट जाँदैछ ।

आगामी वर्ष तल्लो डोल्पा, हुम्लाको सिमिकोट, धादिङको रुबीभ्याली, दोलखाको रोल्वालिङ्ग, ताप्लेजुङको ओलाङचुङगोला सहितका क्षेत्रमा पदयात्रा माग निर्माण हुने भएको छ ।

शाहसिक पर्यटकीय क्षेत्रमा लगानी गर्न राष्ट्रिय-अन्तर्राष्ट्रिय लगानीकर्ता आकषिर्त गर्ने नीति समेत सरकारले लिएको छ । यसमा पर्वतारोहण, बन्जी, रकक्लाइमिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, जिपलाइन, कायाकिङजस्ता क्षेत्र छन् ।

विगतदेखि नै बजेटमा राखेपनि कार्यान्वयनमा आउन नसकेको काठमाडौंको बसन्तपुर-स्वयम्भुनाथ सांस्कृतिक पदमार्गलाई यो वर्ष पनि सरकारले योजनामा समेटेको छ ।

खेल पर्यटन गन्तब्य बनाउन खेल विद्यालय

नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तब्य बनाउन भन्दै यस पटक सरकारले खेल विद्यालयको अवधारणा ल्याएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेल विद्यालय खोल्ने योजना बजेटमा समेटिएको छ । आगामी आवमा खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment