Comments Add Comment

१५ खर्ब नाघ्यो वैदेशिक व्यापार, ११ महिनामा साढे १२ खर्ब व्यापार घाटा

९ असार, काठमाडौं । आयातमा भएको उच्च वृद्धि र न्यून निर्यातको प्रभाव समग्र वैदेशिक व्यापारमा देखिएको छ । चालु आर्थिक वर्षको ११ औं महिना (२०७७ साउनदेखि–२०७८ जेठसम्म) को तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ औं महिनासम्मको व्यापार घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४.६१ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष नेपालमा आयात र निर्यात दुबै बढेको छ । तर, निर्यातको हिस्सा आयातको तुलनामा कम छ ।

२०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा कुल १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.६७ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

१ खर्ब २१ अर्ब बराबरको निर्यात

२०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा नेपालको निर्यात व्यापार १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो अंक गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ११ महिनामा ८८ अर्ब ३१ लाख रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो ।

तथ्यांक अनुसार साउन २०७७ देखि २०७८ जेठ मसान्तसम्म कुल १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो आकार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६.५६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यो अवधिमा कुल वैदेशिक व्यापारको आकार ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख रुपैयाँ थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.९४ प्रतिशत र निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ ।

भारतसँग झण्डै ८ खर्बको व्यापार घाटा

नेपालमा सबैभन्दा धेरै मूल्यको आयात हुने वस्तु पेट्रोलियम पदार्थ हो । पेट्रोलियम पदार्थ सबै भारतबाटै ल्याइने हुनाले वैदेशिक ब्यापार र व्यापार घाटाको मुख्य हिस्सा भारतसँगै छ । तथ्यांक अनुसार ११ महिनामा भारतबाट ८ खर्ब ८६ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारतमा भने ९० अर्ब १९ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब ९६ अर्ब ३९ करोड रुपैयाँ बराबरको रहेको छ । यो अवधिमा नेपालले चीनबाट २ खर्ब १० अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । चीनमा भने नेपालबाट मात्र ९४ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको तथ्यांक छ ।

नेपालबाट तुलनात्मक रुपमा सन्तुलित वैदेशिक व्यापार अमेरिकासँग रहेको छ । ११ औं महिनासम्म नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अमेरिकाबाट भने नेपालमा १७ अर्ब ३ करोड ६२ लाख रुपैयाँ बराबरको सामान आएको छ ।

पौने २ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

११ महिनाको अवधिमा नेपालले भारतबाट मात्र १ खर्ब ९१ अर्ब १८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थको आयात पनि धान्न नसक्ने अवस्था रहेको छ ।

यो अवधिमा विकास निर्माणमा बढी खपत हुने आइरन र स्टिलको आयात १ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँ बराबरको भएको छ । ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरका सवारी साधन नेपालमा भित्रिएका छन् । ३१ अर्ब ४४ करोड रुपैयाँ बराबरको औषधीजन्य वस्तु आयात भएको छ । ११ महिनामा तरकारीजन्य वस्तु मात्र ३४ अर्ब ३२ करोड रुपैयाँको भएको तथ्यांकमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment