+
+
Shares

दुई महिनामा साढे ३ खर्बको वैदेशिक व्यापार, आयात–निर्यात दुवै उच्च

भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड बराबरको वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा २२.५४ प्रतिशत धेरै हो ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असोज ७ गते १५:४१

७ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा साढे ३ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार बराबरको वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा २२.५४ प्रतिशत धेरै हो । गत आव भदौसम्म २ खर्ब ८७ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

दुई महिनामा वस्तु आयात ३ खर्ब नाघेको छ । भदौसम्म ३ खर्ब ५ अर्ब १५ करोड बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा १६.२३ प्रतिशत बढी हो । अघिल्लो आव २ खर्ब ६२ अर्ब ५४ करोड बराबर वस्तु आयात भएको थियो ।

दुई महिनामा निर्यात भने ८८.५७ प्रतिशतले वृद्धि भएको छ । भदौसम्म ४७ अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष भदौसम्म २५ अर्ब ९ करोडको वस्तु निर्यात भएको थियो ।

दुई महिनाको तथ्यांक हेर्दा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ छ । कुल वैदेशिक व्यापार २२.५४ प्रतिशत बढ्दा पनि व्यापार घाटा भने ८.५९ प्रतिशतमात्र बढेको छ । यसो हुनुमा निर्यातको ठूलो भूमिका छ ।

कुल वैदेशिक व्यापारमा आयात हिस्सा ८६.५८ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ५.१५ प्रतिशत कम हो । निर्यात हिस्सा १३.४२ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ५३.८८ प्रतिशतले धेरै हो ।

दुई महिनाको वैदेशिक व्यापार

  • आयात : ३ खर्ब ५ अर्ब
  • निर्यात : ४७ अर्ब ३१ करोड
  • कुल वैदेशिक व्यापार : ३ खर्ब ५२ अर्ब
  • व्यापार घाटा : २ खर्ब ५७ अर्ब
  • आयात-निर्यात रेसियो : ६.४५
  • आयात हिस्सा : ८६.५८
  • निर्यात हिस्सा : १३.४२

निर्यातले थेग्दैछ इन्धन आयात

पहिलो दुई महिनाको तथ्यांक हेर्दा निर्यात व्यापारले इन्धन आयातमा विदेशिने वैदेशिक मुद्रालाई उछिनेको छ । इन्धन आयातमा दुई महिनामा ४५ अर्ब ३९ करोड रुपैयाँ विदेशिएको छ । कुल निर्यात ४७ अर्ब ३१ करोड रुपैयाँ भएको छ ।

बढी आयात हुने वस्तु समूहमा वनस्पति तेल दोस्रो स्थानमा छ । आइरन र स्टिल आयातमा २२ अर्ब ९७ करोड रुपैयाँ बराबर विदेशिएको छ । इलेक्ट्रिकल मेसिन र त्यसका पार्टपुर्जा आयातमा २२ अर्ब १६ करोड विदेशिएको विभागको तथ्यांक छ ।

दुई महिनामा १७ अर्ब २२ करोड रुपैयाँ बराबरका सवारीसाधन आयात भएको तथ्यांक छ । यो अवधिमा औषधीजन्य सामग्री ७ अर्ब १० करोडको आयात भएको छ ।

निर्याततर्फ बढी वनस्पति तेलको हिस्सा पहिलो स्थानमा छ । २३ अर्ब ५६ करोड रुपैयाँ बराबर वनस्पति तेल निर्यात भएको छ । कार्पेट, कफी, चियासहित वस्तु समेत नेपालबाट बढी निर्यात हुने वस्तुमा पर्छन् ।

आयात धेरै भएका वस्तुको पहिलो स्थानमा कच्चा सोयाबिन तेल छ । जुन २१ अर्ब ६४ करोड बराबर आयात भएको छ । दोस्रो स्थानमा डिजेल छ । जुन १४ अर्ब ९१ करोड बराबर आयात भएको देखिन्छ ।

त्यस्तै तेस्रो स्थानमा भने डीएपी मल रहेको छ । जुन १३ अर्ब ६६ करोड रुपैयाँ बराबर आयात भएको छ । चौथो स्थानमा मात्र पेट्रोल  छ ।

त्यसपछि खाना पकाउने एलपी ग्यास आयात भएको छ । दुई महिनामा स्मार्टफोन ९ अर्ब ४३ करोडको आयात भएको छ । निर्यात धेरै भएका वस्तुको पहिलो स्थानमा सोयाबिन तेल छ । जुन २० अर्ब ४२ करोडको निर्यात भएको छ ।

दोस्रो स्थानमा कार्पेट छ । १ अर्ब ५८ करोड, सूर्यमुखी तेल १ अर्ब ३८ करोड, पाम तेल १ अर्ब ३१ करोड रुपैयाँको निर्यात भएको छ ।

नेपाल र भारतबीच सबैभन्दा धेरै व्यापार भएको छ । भारतबाट १ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु नेपाल आयात भएको छ । नेपालबाट ३८ अर्ब ३५ करोडको वस्तु निर्यात भारतमा भएको छ ।

चीनबाट ६५ अर्ब १७ करोडको वस्तु निर्यात भएको छ । १२ करोड ३४ लाख रुपैयाँ बराबर वस्तु चीन निर्यात भएको छ । तेस्रो स्थानमा अर्जेन्टिना छ । त्यहाँबाट वनस्पति तेल आयात भएको छ ।

नेपालमा अर्जेन्टिनाबाट १८ अर्ब ७० करोड रुपैयाँ बराबको वस्तु भित्रिएको छ । नेपालबाट धेरै वस्तु निर्यात हुने देशको दोस्रो स्थानमा अमेरिका छ । त्यहाँ ३ अर्ब २१ करोडको सामान निर्यात भएको छ । आयात भने ६ अर्ब १२ करोड रुपैयाँ बराबर छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?