News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड पुगेको छ, जुन गत आवको तुलनामा २०.०७ प्रतिशत बढी हो।
- मंसिर मसान्तसम्म आयात ७ खर्ब ६६ अर्ब १८ करोड र निर्यात १ खर्ब १६ अर्ब ५० करोड पुगेको छ, निर्यात ५८.१७ प्रतिशतले वृद्धि भएको छ।
- नेपालले पाँच महिनामा भारतबाट ४ खर्ब ३४ अर्ब, चीनबाट १ खर्ब ६३ अर्ब र अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोड बराबर वस्तु आयात गरेको छ।
७ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ पहिलो पाँच महिनामा वैदेशिक व्यापार ९ खर्ब रुपैयाँ नजिक पुगेको छ ।
भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड बराबर वैदेशिक व्यापार भएको छ । जुन गत आव सोही अवधिको तुलनामा २०.०७ प्रतिशतभन्दा धेरै हो । गत आव २०८१/८२ मंसिरसम्म ७ खर्ब ३५ अर्ब १४ करोड बराबर वैदेशिक व्यापार भएको तथ्यांक छ ।
आयात र निर्यात दुवै वृद्धि हुँदा समग्र वैदेशिक व्यापार उकालो लागेको तथ्यांकले देखाएको छ । विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ६६ अर्ब १८ करोड बराबर वस्तु आयात भएको छ । जुन गत आव सोही अवधिको तुलनामा १५.८३ प्रतिशत धेरै हो । निर्यात भने १ खर्ब १६ अर्ब ५० करोड बराबर भएको छ । यो गत आवको तुलनामा ५८.१७ प्रतिशत धेरै हो ।
कुल वैदेशिक व्यापारको आकार २० प्रतिशतले वृद्धि भए पनि व्यापार घाटा भने १०.५२ प्रतिशतले बढेको छ । यसो हुनुमा निर्यातमा उल्लेख्य वृद्धि हुनु हो । मंसिर मसान्तसम्म व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड बराबर भएको छ । गत आव सोही अवधिमा व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड बराबर थियो । कुल वैदेशिक व्यापारमा आयात हिस्सा केही खस्किएको छ । जुन ३.५३ प्रतिशतले घटेर ८६.८० प्रतिशत कायम भएको छ ।
त्यस्तै निर्यात हिस्सा ३१.७३ ले बढेर १३.२० प्रतिशत कायम भएको भन्सार विभागको तथ्यांक छ ।

मंसिर मसान्तसम्मको वैदेशिक व्यापार
आयात : ७ खर्ब ६६ अर्ब
निर्यात : १ खर्ब १६ अर्ब
व्यापार घाटा : ६ खर्ब ४९ अर्ब
कुल वैदेशिक व्यापार : ८ खर्ब ८२ अर्ब
आयात/निर्यात अनुपात : ६.५८
निर्यात हिस्सा : १३.२० प्रतिशत
आयात हिस्सा : ८६.८० प्रतिशत
इन्धन आयातले जित्यो निर्यात
अघिल्लो महिनासम्म इन्धन आयातको तुलनामा कुल निर्यात तल थियो । पाँचौं महिना पुग्दा कुल निर्यातलाई इन्धन आयातले जितेको छ । इन्धन आयातका लागि ५ महिनामा १ खर्ब २१ अर्ब रुपैयाँ विदेशिएको छ । कुल निर्यात भने १ खर्ब १६ अर्बमा सीमित छ । विभिन्न प्रकारका तेल र घिउ तथा कच्चापदार्थ आयात दोस्रो स्थानमा छ । जुन ६३ अर्ब १४ करोड बराबर भएको छ ।
त्यस्तै आइरन र स्टिल आयात ५४ अर्ब ६ करोड बराबर भएको देखिन्छ । इलेक्ट्रिकल मेसिनरी र पार्ट्स आयातमा ५३ अर्ब ९३ करोड विदेशिएको छ । सवारीसाधन आयात ४७ अर्ब १९ करोड बराबर आयात भएको छ ।

यस्तै मल आयातमा ३२ अर्ब १५ करोड खर्च भइसकेको देखिन्छ । औषधिजन्य वस्तु आयात १८ अर्ब २० करोड छ । तरकारीजन्य वस्तु आयातमा १४ अर्ब ८९ करोड विदेशिएको तथ्यांक छ ।
निर्यातमा समेत तेल र घिउको हिस्सा पहिलो स्थानमा छ । जुन ५४ अर्ब ४५ करोड बराबर निर्यात भएको छ । कफी, चिया र मसला निर्यात दोस्रो स्थानमा छ । जुन ८ अर्ब १६ करोड बराबर भएको छ ।
भारत, चीन र अर्जेन्टिना नेपालका ठूला आयातकर्ता
पहिलो पाँच महिनाको तथ्यांक हेर्दा नेपालका दुई छिमेकी भारत र चीनपछि अर्जेन्टिना ठूलो आयातकर्तामा पर्छ । भारतबाट पाँच महिनामा ४ खर्ब ३४ अर्बको वस्तु आयात भएको छ । निर्यात ९५ अर्ब बराबर भएको छ ।
त्यस्तै चीनबाट १ खर्ब ६३ अर्बको आयात भएको छ । निर्यात भने ४६ करोड बराबर मात्र भएको छ । अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोडको आयात हुँदा निर्यात भने ८ लाख बराबरमात्र भएको छ ।
यस्तै युनाइटेड अरब इमिरेट्स (यूएई) चौथो स्थानमा छ । त्यहाँबाट २३ अर्ब ४५ करोडको आयात र ८४ करोडको निर्यात भएको छ । अमेरिका पाँचौं स्थानमा छ । त्यहाँबाट १० अर्ब ३५ करोडको सामान आयात हुँदा ७ अर्ब ४२ करोड ६० लाख बराबर वस्तु निर्यात भएको तथ्यांक छ ।
डिजेलभन्दा धेरै सोयाबिन तेल आयात
तथ्यांक अनुसार वस्तु आयातमा डिजेललाई कच्चा सोयाबिन तेलले उछिनेको छ । पाँच महिनामा ४६ अर्ब ९७ करोड बराबर कच्चा सोयाबिन तेल आयात भएको छ । ३० करोड ३७ लाख लिटर सोयाबिन तेल आयात तथ्यांक छ ।
डिजेल दोस्रो स्थानमा छ । जुन ४५ अर्ब ६० करोड बराबर आयात भएको छ । तेस्रो स्थानमा रहेको पेट्रोल आयात २७ अर्ब ३३ करोड बराबर भएको छ । खाना पकाउने एलपी ग्यास चौथो स्थानमा छ । जुन २२ अर्ब ३९ करोड बराबर आयात भएको तथ्यांकले देखाएको छ । त्यस्तै १९ अर्ब १३ करोड बराबर स्मार्ट फोन आयात भएको छ । सुन आयात १९ अर्ब ७ करोडको भएको छ ।
निर्यातमा अगाडि कुन–कुन वस्तु ?
तथ्यांक अनुसार निर्यातमा सबैभन्दा अगाडि सोयाबिन तेल छ । जुन ४६ अर्ब ५५ करोड बराबर निर्यात भएको छ । दोस्रो स्थानमा रहेको अलैँची ५ अर्ब ५३ करोडको निर्यात भएको छ । कार्पेट निर्यात ४ अर्ब १३ करोड, सूर्यमुखी तेल ३ अर्ब ७३ करोड र जुट निर्यात २ अर्ब ७३ करोड बराबर भएको छ ।
प्रतिक्रिया 4