Comments Add Comment

मंगल ग्रहमा मानिस पठाउने चीनको योजना

११ असार, काठमाडौं । चीनले सन् २०३३ सम्ममा मंगल ग्रहमा मानिस पठाउने योजना सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको दीर्घकालीन योजनाअनुसार पहिला मंगल ग्रहमा स्थायी बसोबासको लागि बेस क्याम्प बनाइनेछ र त्यसैको माध्यमबाट अनुसन्धानको काम सुरु गर्नेछ ।

यसअघि अमेरिकाले पनि मंगल ग्रहमा मानिस पठाउने योजना सार्वजनिक गरेको थियो । यस्तोमा चीन पनि उक्त दौडमा सामेल भएको हो । यसअघि गत मे महिनाको मध्यमा चीनको रोबोटिक रोभर मंगलग्रहमा अवतरण गरेको थियो ।

चीनले अहिले सार्वजनिक गरेको योजनाअनुसार उसले सन् २०३३, २०३५, २०३७, २०४१ र त्यसपछि पनि अन्तरिक्षयात्रीहरुलाई मंगल ग्रहमा पठाउनेछ । चीनको प्रमुख रकेट निर्माता चाइना एकेडेमी अफ लन्च भइकल टेक्नोलोजीका प्रमुख वाङ सियाओजुनले एक भर्चुअल सम्मेलनमा बोल्दै चीनको यस्तो योजना सार्वजनिक गरेका हुन् ।

चीनले मंगल ग्रहमा आफ्नो मानव मिसन सुरु गर्नुभन्दा पहिला रोबोटहरु पठाउनेछ र त्यहाँ बेस स्थापना गर्ने र मंगल ग्रहबारेको खोजका लागि आवश्यक पर्ने प्रणालीको विकास गर्नेछ ।

मंगल ग्रहमा नै बसोबासको लागि अन्तरिक्षयात्रीहरुले त्यहाँको स्रोतको प्रयोग गर्न सक्छन् । यद्यपि त्यतिबेलसम्म चीनले अन्तरिक्षयात्रीलाई पुनः पृथ्वीमा फर्काउने प्रविधिको पनि विकास गर्नुपर्ने हुन्छ ।

अमेरिकाको अन्तरिक्ष नियोग नासाले सन् २०३० को दशकमा अन्तरिक्षयात्रीलाई मंगल ग्रहमा पठाउने र उनीहरुलाई फिर्ता ल्याउने प्रविधिको विकास गर्ने गरी काम गरिरहेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment