Comments Add Comment

एनआरएन कोस्टाब्लान्काको पहिलो अधिवेशनमै विवाद

वार्सिलोना । ”नेपालीहरु जहाँ गए पनि उस्तै ! विकसित देशहरुमा बसेर यहाँका सिक्न लायक कुराहरु सिक्नु त परैको कुरा हो उही झगडा, नेतृत्व र पदकै हानथाप । खुट्टा तानातान र तछाडमछाड ।” एनआरएनए र सामाजिक संस्थाको नाममा भएका झगडादेखेर वाक्कदिक्क बनेका स्पेनको कोस्टाब्लान्का निवासी दीपक सुवेदीले आफ्नो भावना पोखे ।

एनआरएनए स्पेनको कान्छो क्षेत्रीय समिति एनआरएनए कोस्टाब्लान्का तदर्थ समिति गठन भएको ६ महिना पनि पुगेको छैन । समितिको पहिलो अधिवेशनको निर्वाचन प्रक्रिया चल्दै गर्दा समाजका अगुवाहरु नै हातपात र भौतिक आक्रमणमा नै उत्रिएका छन्।

एनआरएनए स्पेन क्षेत्रीय समिति कोस्टाब्लान्का सचिव पदमा उम्मेद्वारी दिएका अनुपसिंह भण्डारीले आँफूमाथि भौतिक आक्रमण भएको भन्दै एनआरएन स्पेनको अनुशासन समितिलाई बोधार्थ लेख्दै निर्वाचन समितिमा उजुरी गरेका छन् । ”उम्मेद्वारी दर्ता भइसकेपछि २०२१ जुन २१ राति १० बजेतिर मसहित अध्यक्षका उम्मेद्वार अक्कल बोहोरालाई संस्थाका केही व्यक्तिहरुले छलफलका लागि भन्दै आल्बिरमा रहेको एक रेष्टुरेन्टमा बोलाएर गाली गलौज र भौतिक आक्रमणसमेत गरेको प्रमाणसहित जानकारी गराउन चाहन्छु,” भण्डारीले लेखेको निवेदनमा उल्लेख छ।

उनले नेपाल समाज एसोसियन सल्लाहकार मुकुन्द लामिछानेले सबैभन्दा पहिले आफूलाई भौतिक आक्रमण गरेको भन्दै अन्य ५ जनाको समेत नाम उल्लेख गरेका थिए।

भौतिक आक्रमणको आरोप गलत छ : लामिछाने

आफूलाई लागेको भौतिक आक्रमणको आरोपबारे अनलाइनखबरसँग कुरा गर्दै एसोसिएनका सल्लाहकार मुकन्द लामिछानेले भने खण्डन गरेका छन्।

”मैले आक्रमण गरेको होइन । मेरो प्रतिक्रिया यही नै हो,” लामिछाने भने, ”तपाईं पत्रकार हो भन्दैमा त्यसै झगडामा उत्रिएको भन्न मिल्छ ? संग्लग्न भएको प्रमाण तपाईंले कसरी जुटाउन सक्नुहुन्छ ? म आफ्नो ठाउँ, समाज, व्यवहार हेरेर चुप लागेर बसेको मात्र हुँ।”

उनले अघि भने, ”हो त्यो ठाउँमा साथीहरुको मिटिङ थिए । झुटो बोल्नु हुँदैन। तर मैले हातपात गरेको छैन।”

झगडा नभएको भए घटनाको भोलिपल्ट दुवैजनाको मिलापत्र भएको फोटो कसरी खिचाउनु भयो भन्ने जिज्ञासामा लामिछानेले त्यो सबैवीचको समझदारी भएको प्रतिक्रिया दिए। उनले भने, ”हातपात भएको कुरामा मिलेको होइन। दाजुभाइको रिलेसन हिजो कुनै किसिमले गलत बुझाइ भएको रै’छ भने सानातिना कुराहरुलाई बिर्सिएर अगाडि बढौं भनेर सबैजना बीच समझदारी भएको हो।”

घटनापछि प्रहरी आयो तर कुरा अन्त्यै मोडियो

होहल्ला र झगडापछि स्थानीय प्रहरीसमेत घटनास्थल पुगेको थियो। ”नेपालमा कोभिड चलिरहेको बेला राहत संकलन गर्न छलफल भएको भन्दै कुरा अन्त्यै मोडियो । तर यथार्थबारे प्रहरीलाई कसैले पनि खोलेनन्,” प्रत्यक्षदर्शी एक नेपालीले नाम उल्लेख नगर्ने सर्तमा बताए।

झगडाका क्रममा दुवै पक्षलाई चोट लागेको देखिन्छ । ”आ-आफ्नो घाउ र चोटको फोटो पनि खिचेका छन्। र मेडिकल रिपोर्ट पनि बनाएका छन् तर घटना बाहिर नआओस् भनेर गुपचुप नै राखे,” उनले भने। एक अर्काले गल्ती स्वीकार गर्दै सहमति भएपछि निर्वाचनसमेत सम्पन्न भइसकेको छ।

गत सोमबार राति एसोसिएन छलफल चल्दै गर्दा भण्डारीले आफ्नो फेसबुकमार्फत लाइभ गरेका थिए । उनको फेसबुक लाइभ हेर्दै बसेका एक नेपालीले भने, ”हो हल्ला गरेको सुनियो, फेसबुक बन्द गर भनियो। झगडा भएको प्रष्ट नै थियो। एकैछिनमा लाइभ नै बन्द भयो,” उनले भने ।

खास विवाद के -हो ?

अक्कल बोहोराले एसोसिएनको अध्यक्ष पदबाट राजीनामा नदिई र बुझ बुझारथ नगरी एनआरएनए क्षेत्रीय समितिको अध्यक्षको उम्मेद्वारमा मनोनयन गरिएको भन्दै नेपाल समाज एसोसिएनका महासचिव नवराज दुवाडीले निर्वाचन समितिमा उजुरी दिएका थिए।

उनको निवेदनमा एसोसिएनका बहुमत सदस्यहरुको हस्ताक्षर थियो। सो निवेदनमा एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङलाई समेत बोधार्थ लेखिएको थियो।

उता अध्यक्ष बोहोराले नेपाल समाज एसोसिएन र नेपाल समाज स्पेनबीच एकता भएको भन्दै आफू संयुक्त उम्मेद्वार रहेको विज्ञप्ति निकाले।

सहमतिपछि नेपाल समाज स्पेनकातर्फबाट अध्यक्षको उम्मेद्वार दिएका केशवराज कंडेलले बोहोरालाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएको विज्ञप्तिमा उल्लेख थियो। त्यसमा नेपाल समाज एसोसिएनका बहुमत सदस्यहरुले असहमति जनाए।

एनआरएनए स्पेनलाई लिखित जानकारी छैन

दुवै पक्षले घटनाक्रम अनुसार निवेदनमा एनआरएनए स्पेनलाई बोधार्थ लेखे पनि आफूलाई कुनै पनि लिखित पत्र नआएको एनआरएनए स्पेनमा अध्यक्ष दिनेश गुरुङले बताए। ”सोमबारको घटनाबारे मौखिक जानकारी थियो। चुनाव सार्ने कि भन्ने पनि भएको थियो। तर पछि दुवैपक्षबीच सहमति भएको खबरपछि मतदान गर्‍यौं । अहिले त नजिता पनि आइपुग्यो।”

कुटपिटको घटना एनआरएन स्पेनको इतिहासमा खासै नभएको भन्दै उनले कोस्टाब्लान्का घटना दु:खद भएको प्रतिक्रिया दिए। ”घटनाबारे मौखिक जानकारी त मैले धेरैजनाबाट सुनेँ। धेरै नै दु:ख लाग्यो । तर लिखित केही जानकारी छैन,’’ उनले भने, ”हिजो क्षेत्रीय समिति गठन गर्दा विरोध गर्ने केही साथीहरु अहिले आफैँ नेतृत्वमा पुग्नु भएको छ । एनआरएनको महत्व सबैले बुझ्नु भएकोमा मलाई धेरै खुसी लागेको छ।”

बोहोराको प्यानलनै पराजित

निर्वाचनमा विकट जिल्लाहरुमा सहयोग पठाएर सामाजिक छवी बनाएका पूर्व राष्ट्रिय धावकसमेत रहेका अक्कल बोहोराको प्यानल नै पराजित भएको छ।

बिहीबार सम्पन्न निर्वाचनमा नेपाल समाज एसोसिएनका अध्यक्ष पदमा रही काम गरिसकेका बोहोरा एसोसिएनका आफ्नै उपाध्यक्ष देवराज सापकोटासँग ३९ मतले पराजित भएका हुन् ।

बोहोराले ११४ मत ल्याए भने सापकोटाले १५३ मत ल्याएर एनआएनए क्षेत्रीय समिति कोस्टाब्लान्काको पहिलो निर्वाचित अध्यक्ष बनेका छन् । कोस्टाब्लान्कामा ३२१ पंजीकृत सदस्यहरु रहे पनि २७४ जनाले मतदानमा भाग लिएका थिए।

सापकोटा प्यानलबाट संघको उपाध्यक्षमा श्री प्रसाद शेरचन, सचिवमा लक्ष्मण पाण्डे, सहसचिवमा चक्रप्रसाद बेल्बासे र युवा संयोजकमा ईश्वर बुढाथोकी विजयी भएका छन् ।

यसैगरी एनसीसी स्पेनको केन्द्रीय सदस्यमा रीता आचार्य, कोषाध्यक्षमा झरना कार्की र महिला संयोजकमा मुना महत निर्विरोध निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरुमा गंगा मुनिकर, धिरज पाण्डे, विजया थापा, सन्देश नेपाल र सीमा सापकोटा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

कतिपयले यसलाई काँग्रेस भर्सेस कम्युनिस्टको निर्वाचनको रुपमा लिदै काँग्रेसले बाजी मारेको प्रतिक्रिया समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment