१३ असार, काठमाडौं । पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभावी रुपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ ।
पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यमको पढाएको, पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेर बेचेको पाइएको छ ।
समितिले शनिबार नयाँबानेश्वर र भोटाहिटीका केही पुस्तक पसलमा अनुगमन गरेको थियो । सरकारले गत वर्षदेखि एकीकृत पाठ्यक्रम बनाई कक्षा १ मा जम्मा चारवटा पाठ्यपुस्तक तोकेको छ । तर रोजबड स्कुलले अभिभावकलाई कक्षा १ को १० वटा पुस्तक किन्न लगाएको पाइएको अनुगमनमा सहभागी अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।
रोजबडले बानेश्वरको अभिषेक पुस्तक पसलमा दिएको किताबको सूचीमा १० वटा समावेश छ, ती सबै पुस्तक अभिभावकले खरिद गर्नुपर्छ । सोही स्कुलको कक्षा २ का विद्यार्थीले नौवटा पुस्तक किन्नुपर्ने बाध्यता छ । ७–८ वटा पुस्तकको सूची हुने विद्यालयको संख्या धेरै रहेको भण्डारीको भनाइ छ ।
ओएसीस पब्लिकेसनको कक्षा ८ को साइन्स एन्ड इन्भाइरोमेन्ट पुस्तकको मूल्य भएको ठाउँमा कालो पोतेर नयाँ मूल्य उल्लेख गरी बिक्री गरेको छ ।
अध्यक्ष भण्डारीले फोरकलर (चारवटा रंगमा प्रकाशित हुनुपर्ने) पुस्तकमा श्यामश्वेत (ब्ल्याक एन्ड ह्वाइट) तस्वीरसमेत राखेको पाइएको बताए । सञ्जीवनी मोरल एजुकेसन पुस्तकमा लालीगुराँस, नेपालको राष्ट्रिय झन्डा, नेपालको नक्सा श्यामश्वेत प्रकाशित गरेको छ ।
नेपालीमा पढाउनुपर्ने पुस्तक अंग्रेजीमा
सरकारले नेपाली भाषामा अध्ययन र परीक्षा दिनुपर्ने भनी तोकेको पुस्तक पनि अंग्रेजीमा प्रकाशन र बिक्री गरेको पाइएको छ ।
एसबी पब्लिकेसन र संगम पब्लिकेसनले पाठ्यक्रम विकास केन्द्रले तयार गरेको ‘हाम्रो सेरोफेरो’ किताबलाई अंग्रेजी माध्यममा प्रकाशन गरेर बिक्री गरेको पाइएको छ । नेपालीमा भएको ‘म र मेरो परिवार’ पाठलाई ‘मी एन्ड माई फेमिली’ भनेर प्रकाशन गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले यी विषय सामाजिक र नेपाली भाषामै हुनुपर्ने व्यवस्था गरेको छ ।
कक्षा १ देखि ३ सम्मको पुस्तक समेट्ने गरी एसबी इन्टिग्रेटेड स्टडिज पार्ट १, पार्ट २ र पार्ट ३ गरी छपाइ र बिक्री वितरण गरेको छ । पुस्तकको सुरुमै नेपाल तथा विदेशमा अध्ययन गर्नेहरूका लागि नेपाली समाज र संस्कृति जान्न चाहनेहरूका लागि तयार गरेको उल्लेख गरेको छ ।
पाठ्यपुस्तक बाहेकका थप सामग्री पढाउन स्वीकृति लिनुपर्ने हुन्छ । तर सरकारले तोकेको पाठ्यक्रमभन्दा बढी पुस्तकहरु स्वीकृत नलिई पढाइरहेको पाइएको छ ।
विद्यालयका पुस्तकमा पुरानै नक्सा
काठमाडौंका केही पुस्तक प्रकाशकले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नयाँ नक्साविनाकै पाठ्यसामग्री बिक्री वितरण गरेको पाइएको छ । केही पब्लिकेसनलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेपछि सुधार गरेको र केहीले भने अहिले पनि खुला रूपमा यस्ता सामग्री बिक्री वितरण गरिरहेको पाइएको छ ।
अक्सब्रिज पब्लिकेसन, कोसेली, रिडमोर पब्लिकेसनलगायतका पुस्तकमा पुरानै नक्सा प्रयोग गरेको पाइएको छ । केन्द्रले कोसेली पब्लिकेसनलाई पुस्तकसहित कार्यालयमा आउन निर्देशन दिएको छ । रिडमोर पब्लिकेसनलाई केन्द्रले स्पष्टीकरण सोधेको छ । अक्सब्रिज पब्लिकेसनको जेनरल नलेज पुस्तकमा नेपालको पुरानो नक्सा प्रयोग छ ।
जथाभावी गर्नेलाई कारबाही गरिने
अनुगमनका क्रममा धेरै समस्या देखिएपछि सम्बन्धित विद्यालय, प्रकाशन गृहहरुलाई स्पष्टीकरण पत्र पठाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए । उनले भने, ‘हामीले केही विद्यालय र प्रकाशन गृहलाई बोलाएर स्पष्टीकरण पत्र थमाएका छौं । केहीलाई भोलि बोलाएका छौं ।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा रहेको पाठ्यपुस्तक अनुगमन समितिले त्रुटि भएका पुस्तकहरु तुरुन्तै फिर्ता गर्ने, पुरानो नक्सा भएको पुस्तकमा नयाँ नक्सा टाँस गर्ने, स्वीकृति नपाएको किताबहरु फिर्ता ल्याउन निर्देशन दिइसकेको छ ।
अनुगमनको क्रममा समस्या धेरै देखिएपछि निरन्तर अनुगमनका लागि समिति समेत गठन गरिएको छ । समितिले निरन्तर अनुगमन गर्ने महानिर्देशक न्यौपानेले जानकारी दिए । मनलाग्दी गर्ने प्रकाशन गृहको स्वीकृति रद्द गर्नेसम्मको कारबाही गर्न सकिने अर्यालले बताए ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4