Comments Add Comment

प्रहरी अस्पतालका चिकित्सकद्वारा बाढी पहिरो प्रभावित हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचार 

Photo Credit : RSS

१४ असार, काठमाडौं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरु संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । असार १ गते आएको मेलम्ची र इन्द्रावतीको बाढीबाट पीडित स्थानीयवासीहरुको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो ।

प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा ११ जना चिकित्सकहरु बाढी प्रभावित क्षेत्र पुगेका हुन् । मेलम्ची र हेलम्बु गाउँपालिका–६ स्थित इचोक स्वास्थ चौकी र वडा नम्बर–४ स्थित चिलाउनेघारी आधारभूत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहेका एसएसपी डा. श्रेष्ठले बताए ।

बिहीबार हेलम्बु गाउँपालिका–४ चिलाउनेघारीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गराएका मध्ये १ सय ७० जनालाई विभिन्न रोगको औषधि वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई ड्रेसिङ गरिएको छ ।

हेलम्बु गाउँपालिका– ६ स्थित इचोक आधारभुत स्वास्थ्य सेवा केन्द्र, इचोकको शिबरमा १ सय ६२ जनाको निःशुल्क उपचार गरिएको छ । इचोकमा १ सय ६० जनालाई औषधि वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, ९ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ ।

यसैगरी शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्र सञ्चालन गरिएको शिविरमा १ सय ६६ जनाको निःशुल्क उपचार गरिएको छ । जसमध्ये १ सय ५६ जनालाई औषधि वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड गरिएको छ । १० जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई ड्रेसिङ गरिएको छ ।

नेपाल प्रहरीको अस्पतालको टोलीमा एसएसपी डा. श्रेष्ठसहित, एसपी डा.आशिष दत्त(सर्जन), डीएसपी निर्मल घिमिरे (फिजिसिएन), डीएसपी सुबास थापा (आन्तरिक औषधि) डीएसपी रोजीना मानन्धर (रेडियोलोजिस्ट), डीएसपी मुत्ती घिमिरे ( स्त्री रोग विशेषज्ञ) छन् । यसैगरी डीएसपी भवानी गुरुङ ( बाल रोग विशेषज्ञ), डीएसपी शंकर थापा (दन्त रोग विशेषज्ञ), डीएसपी प्रभाकर श्रेष्ठ (अर्थोपेडिक सर्जन), इन्सपेक्टर डा. प्रबिना मास्के, डा. एलिना श्रेष्ठ टोलीमा संग्लन छन् ।

मनसुन शुरु भएको पहिलो हप्तामै सिन्धुपल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका प्रभावित बनेको छ । संकटमा परेका सर्वसाधरणहरुको उपचारमा यस अघि पनि प्रहरी अस्पतालका चिकित्सकहरु सक्रिय उल्लेख गर्दे एसएसपी डा. श्रेष्ठले यसपाली पनि निरन्तरता दिइएको बताए । उनले भने, ‘संकटमा परेका नागरिकहरुको सारथी र सहयोगी बन्न पाएकोमा हामी खुशी छौं । अप्ठ्यारो र संकटमा परेकाहरुको सेवा गर्नु हाम्रो कर्तव्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment