Comments Add Comment

कोरोना खोपको पूरा मात्रा लगाएर विदेशबाट फर्केकाहरु सीधै घर जान पाउने

१४ असार, काठमाडौं । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ ।

नयाँ प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिपाेर्ट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरी सीधै गन्तव्यस्थलमा जान अनुमति दिइने भएको छ ।

यस्ता यात्रुले विमानस्थलमा भरेको फारमका आधारमा स्थानीय सरकारले उनीहरु क्वारेन्टिन बसे-नबसेको अनुगमन गर्ने भएको छ । यसअघि विदेशबाट आउने सबै यात्रुले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने प्रावधान रहेको थियो ।

विदेशबाट आउने सबै यात्रुको साथमा भने ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिपाेर्ट साथमा बोक्नुपर्नेछ ।

खोप नलगाए ७ दिन होटल क्वारेन्टिन

सरकारले गन्तव्य तोकेर हवाई उडान सहज बनाएको छ । यससँगै विदेशमा खोप नलगाए पनि नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटल क्वारेन्टिन बसे पुग्नेछ। यसअघि यस्तो प्रावधान १० दिनको थियो ।

यात्रुले पीसीआर रिपाेर्टसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्ने छन् । तर, आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने स्थानीय तह वा सीसीएमसीको सिफारिशमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपाेर्ट आएमा सीधै घर जान दिइनेछ ।

निजले घरमा बसेको ११ औं दिनमा भने कोभिड १९ परीक्षण गर्नुपर्नेछ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा -कम्तीमा दुई जना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिने भएको हो ।

७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरी घर जान दिइनेछ । यी सबै वर्गको एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्कंदा होटल बुकिङ नभए पनि बोर्डिङ

होटल क्वारेन्टिनमा बसेको ७ औं दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सीधै घर जान पाइने भएको छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ ।

तर, उनीहरु नेपाल आइसकेपछि भने सरकारले क्वारेन्टिन भनी तोकेका होटलमा बस्नुपर्नेछ । यसको व्यवस्थापन पर्यटन विभागले गरिरहेको छ । यसअघि सबै यात्रुले होटल बुकिङ नभई जहाज चढ्न नपाउने प्रावधान रहेको थियो ।

डिपोर्टेसन भएर फिर्ता भएका, जेलमुक्त भएर आएका बेखर्ची नेपालीलाई कूटनीतिक नियोगको सिफारिशमा सरकारी क्वारेन्टिनमा राखिनेछ । बस्ने, कोभिड परीक्षण गर्ने र घरसम्म पुग्ने खर्च सरकारले नै बेहोर्नेछ ।

भीआईपीलाई छुट

नेपाल आउने कूटनीतिक नियोगका पदाधिकारी, अन्तर्राष्ट्रिय संघसंस्था तथा गैरसरकारी संस्थाका कर्मचारी र उनीहरुको परिवार भने अब होटलमा क्वारेन्टिन बस्नुपर्ने छैन ।

परराष्ट्र मन्त्रालयको सिफारिशका आधारमा उनीहरु स्वयं क्वारेन्टिनमा बस्न सक्नेछन्।  नेपाल आएको १० औं दिनमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई काममा फर्कन दिइनेछ । विदेशबाट फर्कने नेपाली कर्मचारी १० दिन घरमै बस्ने गरी घर जान पाउने छन् ।

विदेशबाट फर्कने सुरक्षाकर्मी भने संस्थागत क्वारेन्टिनमा बस्ने गरी गन्तव्यमा जान सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment