Comments Add Comment

जारी युरोकपमा आत्मघाती गोलको कीर्तिमान

१५ असार, काठमाडौं । युरोपका विभिन्न ११ देशमा भइरहेको युरोकप २०२० मा आत्मघाती गोलले कीर्तिमान नै बनाएको छ । यसपटक भएका आत्मघाती गोलको संख्या यसअघि भएका युरोकपको सबै आत्मघाती गोल संख्या जोड्दा बराबरी हुन आउने देखिएको छ ।

गएराति भएको खेलमा स्पेनले क्रोएसियालाई पराजित गर्दा स्पेनका पेड्रीले आत्मघाती गोल गरेका थिए । जुन यस संस्करणमा भएको नवौं आत्मघाती गोल हो ।

सन् १९७६ देखि २०१६ सम्म ४० वर्षको अवधिमा ९ आत्मघाती गोल भएका थिए । यसपटक एकै संस्करणमा ९ आत्मघाती गोल भइसकेको छ । समूह चरणका ३६ र नकआउट चरणमा ६ गरी ४२ खेल भइसकेका छन् । अझै ९ खेल बाँकी रहेकाले आत्मघाती गोलको संख्या बढ्न पनि सक्छ ।

अहिलेको आधुनिक फुटबल गतिमा खेलिने भएकाले पनि धेरै आत्मघाती गोल भएको फुटबल विज्ञहरुको भनाइ छ । यसपटक समूह चरणमा कुल ८ आत्मघाती गोल भएका थिए । अन्तिम १६ को चरणमा एक आत्मघाती गोल भयो ।

समूह चरणमा दुई खेल यस्ता पनि रहे जसमा दुई–दुई आत्मघाती गोल भए । समूह एफ अन्तर्गत जर्मनीले पोर्चुगललाई ४–२ ले हराउँदा पोर्चुगलले दुई आत्मघाती गोल गर्‍यो । यस्तै समूह ई अन्तर्गत स्पेनको ५–० को जितमा स्लोभाकियाका खेलाडीले पनि दुई आत्मघाती गोल नै गरे ।

पछिल्लो पटक २०१६ को युरोमा ३ आत्मघाती गोल भएका थिए, जुन एकै संस्करणमा यसअघि भएको धेरै आत्मघाती गोल संख्या थियो । तर यसपटक भने आत्मघाती गोलको संख्या बढेको छ ।

युरोकप २०२० मा अहिलेसम्म ९ आत्मघाती गोल हुँदा सबै पराजित टिमबाट नै भएका छन् । यस संस्करणको पहिलो खेलमै आत्मघाती गोल भएको थियो । इटली र टर्कीबीचको उद्घाटन खेलमा टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेका थिए ।

यस्तै यस पटक ३ गोलकिपरले पनि आत्मघाती गोल गरेका छन् । पोल्याण्डका वेजसिएच सेजेन्ची, फिनल्याण्डका लुका ह्राडेकी र स्लोभाकियामा मार्टिन डुब्राभ्काले आत्मघाती गोल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment