Comments Add Comment

मन्त्री कृष्णगोपाल श्रेष्ठले भने– गल्ती महसुस भएको छ, आइन्दा यस्तो गर्दिनँ

आयोग पदाधिकारीसँग मन्त्री कृष्णगोपाल श्रेष्ठ

१६ असार, काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् ।

आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगले बुधबार विज्ञप्ति जारी गरी मन्त्री श्रेष्ठले आफूले गल्ती महसुस गरेको बताएको उल्लेख गरेको छ ।

‘छलफलको क्रममा मन्त्री श्रेष्ठले उक्त घटनामा नहुनुपर्ने कुरा भएको, उक्त घटनामा आफू झण्डासहितको सरकारी गाडीमा नगएको भए हुन्थ्यो भन्ने कुरा महसुस गरेको र भविष्यमा यसप्रकारका घटना नदोहोरिनेमा आफू सचेत रहने बताउनुभयो’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

श्रेष्ठलाई आयोगका अध्यक्ष तथा सदस्यहरुले यस किसिमको घटना नदोहार्याउन निर्देशन दिएको आयोगले जनाएको छ । आयोगले जातीय विभेद तथा छुवाछूत जस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण नगर्न, यस्ता घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले ९ असारमा रिहा गरेको थियो । मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुगेर प्रधानलाई झण्डावाल गाडीमा राखेर लगेका थिए ।

यो पनि पढ्नुहोस जातीय विभेदको आरोपित घरबेटीलाई शिक्षामन्त्रीको ‘लिफ्ट’

यसबाट मन्त्री श्रेष्ठको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री श्रेष्ठलाई जातीय विभेदलाई प्रश्रय दिने खालको गतिविधि नगर्न सचेत गराएका थिए । आयोगले मन्त्री श्रेष्ठलाई मंगलबार  कार्यालयमा बोलाएर यसबारे सोधपुछ गरेको थियो ।

काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेको आरोप लागेपछि ६ असारमा प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment