Comments Add Comment

एमालेको १० औं महाधिवेशन आयोजक कमिटी खारेज, नेताहरुमाथि गरिएको कारबाही निष्प्रभावी

१६ असार, काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ । यससँगै समितिले माधवकुमार नेपालसहितका ११ नेतामाथि गरेको कारबाही निष्प्रभावी भएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । कमिटी बैठकले महाधिवेशनको मिती तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।

तर सर्वोच्चले २७ जेठ २०७८ मा महाधिवेशन कमिटीलाई वैधता नदिने गरी फैसला गरेपछि एमालेले फेरि केन्द्रीय कमिटीलाई व्युँताएको छ ।

यससँगै वैशाख १२ गते र जेठ १० गते पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई गरेको कारबाही निष्प्रभावी भएको छ । ‘महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरित गर्ने फैसलासँगै त्यो कारबाही निष्प्रभावी भएको छ’ प्रवक्ता ज्ञवालीले भने, ‘अब त्यो कारबाहीको कुनै सन्दर्भ रहेन ।’

बैठकले पार्टी एकतामा रचनात्मक र सिर्जनात्मक योगदान गर्न नेता कार्यकर्तालाई आह्वान गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । पार्टीलाई एकताबद्ध गर्ने एउटा नयाँ आधार सिर्जना भएको भन्दै उनले भने, ‘त्यो आधारलाई सम्मान गर्दै, कदर गर्दै, पार्टी एकतामा रचनात्मक, सिर्जनात्मक योगदान गर्न नेता, कार्यकर्ताहरुलाई पार्टीले आजको बैठकबाट आह्वान गरेको छ ।’

प्रवक्ता ज्ञवालीका अनुसार केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ । साथै स्थायी कमिटीमा ८ नेता मनोनित भएका छन् ।

साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment