Comments Add Comment

विराटनगर दुर्घटना प्रकरण : सांसद पुत्रलाई कारागार चलानको आदेश

१६ असार, विराटनगर । जिल्ला अदालत मोरङले सवारी ज्यान मुद्दाका आरोपी रविनसिंह कार्कीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले सवारी ज्यान मुद्दाको पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

विराटनगर महानगरपालिका–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविनसिंह कार्कीले मदिरा सेवन गरी चलाएको कारले विराटनगर एयरपोर्ट रोडमा दुई जनालाई ठक्कर दिएको थियो । गत जेठ २० गते राति साढे सात बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो  । दुर्घटनामा मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीया रामकुमार राजवंशी घाइते भएका थिए ।

दुर्घटनालगत्तै फरार भएका कार्कीलाई जेठ २३ गते प्रहरीले पक्राउ गरेको थियो । कार्की नेपाली कांग्रेस प्रदेश १ सांसद विन्दिया कार्कीका छोरा हुन् ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालका अनुसार न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा कार्कीलाई पुर्पक्षका लागि जिल्ला कारगार मोरङ चलान गर्ने आदेश दिएको हो ।

कार्कीविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको थियो । दाहालका अनुसार बुधबारको बहसपछि थुनामा राख्ने आदेश भएका कार्कीको कोरोना परीक्षणपछि कारागार चलान गरिनेछ । कोरोनाको रिपोर्ट नआएसम्म उनी प्रहरी हिरासतमै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment